अछामका ४०० परिवारले लापुर्जा पाउने

अछामका ४०० परिवारले लापुर्जा पाउने

अछाम सम्वाददाता । अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लापुर्जा) पाउने भएका छन्।

मेल्लेख गाँउपालिका ३ ठाँटीको सिंगै गाउँका ४०० परिवार लालपुर्जावाट बञ्चित भएकालाई गाउँपालिकाको पहलमा नापी बिभागले स्थानीय स्तरको मुचुल्का पछि लालपुर्जा वितरण गर्न सकिने भएको हो।

मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले नापी बिभागमा लालपुर्जा नपाएको विषयमा परामर्श गर्दा स्थानीय स्थरवाट सार्वजनिक मुचुल्का बनाएपश्चात जिल्ला बिशेष नापी कार्यालय र नापी बिभाग मार्फत मन्त्रीपरिषदवाट पास गराएर तिहार लगत्तै लालपुर्जा वितरण गरिने जानकारी दिए।

स्थानीय स्तरमा कुनैपनी जग्गाधनीसंग जग्गाको कुनैपनी प्रमाणपत्र नभएको र २०४३ साल अघिको २ नम्वर रसिद पनि नभएका कारण मुचुल्का बनाई कुनै पनि विबाद नरहने गरि लालपुर्जा बितरण गरिने अध्यक्ष बोहराले बताए।

एक दुई दिनभित्रै कुष्कोट र ठाँटीका वडा अध्यक्षहरुसंग बैठक राखी लालपुर्जा बिहिन सबै ४ सय घरमुलीलाई मुचुल्कामा हस्ताक्षर गराएर आवश्यक प्रक्रिया पुर्याई पुर्जा बितरण गरिने बोहराको भनाई छ।

नापी बिभागका प्रमुख गणेश प्रसाद भट्टले लालपुर्जा बितरण गर्न सकिने तर कुनै व्यक्तिसंग पुरानो २ नम्वर रसिद तथा अन्य केही कागजात भेटिएपछि बिबाद हुने हुँदा सबैको मुचुल्का बनाएर पठाउन र त्यसपछी मात्रै पुर्जा बितरण गर्न अनुरोध गरेको बताए ।

नापी विभाग र जिल्ला बिशेष नापी कार्यालयको पत्र लिएर तत्काल गाँउमै सार्वजनिक मुचुल्का बनाउन गाउँपालिकाले पहल गर्ने हुँदा सबै सरोकारवालाले सहयोग गर्नु पर्ने गाउँपालिका अध्यक्ष बोहराले बताए।

जिल्ला विशेष नापी कार्यालयवाट २०७१ मा ठाँटीमा जग्गा नाप नक्शा कार्य सम्पन्न गरिसकेको छ।लालपुर्जा वितरण नहुंदा स्थानीय स्तरमा राजस्व संकलन, कृषि ऋण तथा अन्य बैंकिङ कारोबारमा पनि समस्या श्रृजना भएको स्थानीयहरुको गुनासो छ ।

२०५८ को अछाम आक्रमणमा मालपोत कार्यालय ध्वस्त भएपश्चात ठाँटी गाउँको सिंगै चार सय घरधुरीको लालपुर्जा लगायत कागजात जलेपछी गाउँ लालपुर्जा बिहिन भएको थियो ।