पवित्र पाशुपतक्षेत्रमा दर्शनार्थीहरुको महाभीड

पवित्र पाशुपतक्षेत्रमा दर्शनार्थीहरुको महाभीड

काठमाडौँ । मंगलवार महाशिवरात्री पर्वका अवसरमा बिहान २ बजेदेखि भक्तजनको भीड लागेको छ । भक्तजन भीडलाई मध्येनजर गर्दैै विहान ३ः१५ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिएको हो ।

धेरै टाढाबाट पर्व मनाउन र शिवको दर्शन गर्न आएका भक्तजनहरुले सिमसिमे पानीलाई वास्ता नगरी बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।

भक्तजनहरुलाई पशुपतिनाथ दर्शनका सजिलो होस् भन्नका खातिर तीन तिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको कोषका निर्देशक सिटौलाले जानकारी दिए।

पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपतिनाथ दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

सम्पूर्ण दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ भने कति भक्तजनले दर्शन गरे त भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह समेत खटाइएकोे छ ।

यस महाशिवरात्रि पर्वमा १२ देखि १३ लाख दर्शनार्थीहरुले मन्दिरमा दर्शन तथा अवलोकन गर्ने प्रारम्भिक अनुमान गरिएको कोषले जनाएको छ ।

Share