‘‘शाखा रहित बैङिकङ सेवा’’ घर्तीगाउँ रोल्पामा

‘‘शाखा रहित बैङिकङ सेवा’’ घर्तीगाउँ रोल्पामा

–मनिषा राई
माघ २९, रोल्पा ।
ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘‘शाखा रहित बैङिकङ सेवा’’ उद्घाटन समारोह सोमवार माडी गाउँपालिका २ घर्तीगाउँ रोल्पामा सम्पन्न भएको छ ।

उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि तथा माडी गाउँपालिका प्रमुख नन्द बहादुर पुनमगर आनन्दले कार्यक्रमलाई सम्बोधन गर्दै शाखा रहित बैङिकङ सेवाले मात्र पश्चिम रोल्पाका स्थानियहरुलाई अपुग हुने भएकाले ग्लोवल बैंकको शाखा नै बिस्तार गर्नु पर्ने बताएको हो।

पुनमगरले पश्चिम रोल्पाका स्थानियहरु बैंक सम्बन्धि सानो कारोबारको लागि पनि समय र पैसा खर्च गरेर सदरमुकामसम्म जानु पर्ने र सदरमुकाममा गएर पनि समयमै काम सम्पन्न नहुने हँुदा थप समस्या हुने भएकाले घर्तीगाउ रोल्पामा शाखा रहितबाट एक्सटेन्सन काउन्टर नै भएपछि पश्चिम रोल्पालीहरुले राहत पाउने बताए ।

साथै पुनमगरले आयोजकलाई तत्काल शाखा बिस्तार गर्न आग्रह गर्दै अन्यथा अन्य बैंकको शाखा ल्याउन सकिने जानकारी दिए । जनताको समस्यालाई मध्यनजर राख्दै तत्कालै शाखा बिस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि ग्लोवल आइएमई बैंक लिमिटेड प्रधान कार्यलयका प्रबिण बिक्रम शाहीले ‘‘शाखा रहित बैङिकङ सेवा’’ ले जनताको घरदैलो मै सेवा प्राप्त गर्न सक्ने बताए ।

साथै शाहीले गाउँघरका जनताहरुलाई बैंकमा पैसा राख्दा सुरक्षित हुने बताउदै सदरमुकाम लिवाङको तुलनामा २ प्रतिशत बढि व्याजमा रकम संकलन गर्न पाउने भएकाले पनि बचत गर्ने बानीको बिकास गर्न समेत आग्रह गरेका थिए ।

शाहीले ‘‘शाखा रहित बैङिकङ सेवा’’ लाई सहयोग गर्न आग्रह गर्दै छिट्टै नै शाखाबाट सेवा दिने समेत जानकारी दिए । यसको लागि केन्द्रिय कार्यालयमा समेत कुरा उठाउने प्रतिवद्धता गरे ।

ग्लोवल आइएमई बैंक लिमिटेड माडी गाउँपालिका रोल्पाका आधिकारिक प्रतिनिधि कमल घर्तीमगरको अध्यक्षतामा सन्चालन कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष धनिकला बुढामगर, माडी गाउँपालिका २ का वडाअध्यक्ष ललित घर्तीमगर, नेकपा माओबादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष हरिसरा घर्तीमगर, कर्मचारीहरुको तर्फबाट नापी कार्यालय माडी गाउँपालिका प्रमुख भक्तिराज भट्ट, शिक्षक महासंघ माडी गाउँपालिका अध्यक्ष यज्ञ बहादुर डागी, नेपाल लेखापढि कानून व्यवसाय एशोसियशन माडी गाउँपालिका अध्यक्ष शेर बहादुर बुढामगर, बिजय लघुबित्त शाखा कार्यालय माडी गाउँपालिका प्रमुख खुम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्पूर्ण अतिथिहरुलाई खादा र अविरले स्वागत गरिएको कार्यक्रममा नेकपा माओबादी केन्द्र माडी गाउँपालिका सचिव बिजय घर्तीमगर, इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पा इन्चार्ज तिलक प्रसाद कलौनी, मालपोत कार्यालय प्रमुख रुद्र वली, कृषि बिकास कार्यालय प्रमुख राजकुमार यादव, स्वास्थ्य चौकि घर्तीगाउँ प्रमुख कृष्ण प्रसाद आचार्य, हातेमालो कृषि सहकारी संस्थाका व्यवस्थापक बन्दना घर्तीमगर, नेपाल रेडक्रस सोसाइटीका जयकली बुढामगर, बजार व्यवस्थापन समितिका भुपू अध्यक्ष रण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो।

दिप प्रज्वलनको साथमा उद्घाटन गरीएको कार्यक्रममा प्रमाणपत्र समेत प्रदान गरीएको थियो ।

Share