तल्लो सोलु जलविद्युत आयोजनाको काम कति प्रतिशत सकियो ?

तल्लो सोलु जलविद्युत आयोजनाको काम कति प्रतिशत सकियो ?

– भोजराज कार्की
माघ २७, २०७४ ।

सोलुखुम्बुमा निर्माणाधिन तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावट) को २५ प्रतिशत काम सम्पन्न भएको छ । निजि क्षेत्रबाट निर्माण भईरहेको उक्त आयोजनाको काम माघ अन्तिमसम्म २५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले १६ महिना अघिदेखि निर्माणको काम शुरु गरेको हो।

२५ प्रतिशत काम मध्ये बाँधको काम ४० प्रतिशत पूरा भएको तल्लो सोलु हाइड्रो पावर कम्पनीका प्रशासन मेनेजर कविराज पौडेलले जानकारी दिए।

आयोजनाको विद्युतगृहका लागि जग खन्ने र अर्थिङ प्लेट राख्ने काम भईरहेको छ, पौडेलले भने, “सबै सामान निर्माण स्थलमा आईपुग्यो काम भईरहेको छ ।” यस्तै अहिले “२.४ मिटर गोलाकार १ हजार ४ सय ५० मिटर लामो पेनस्टक पाइप राख्ने संरचना निर्माण भइरहेको छ” पौडेलले भने।

विद्युत उत्पादनको लागि सोलुखुम्बुको तिङ्ला हुदै चार किलोमिटर सुरुङमार्ग मार्फत पानी लगिने छ । जसको ३० प्रशित काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

सुरुङमा जानको लागि आवश्यक पाँच सय मिटरको सुरुङकै बाटो निर्माण सम्पन्न भईसकेको र सात सय सुरुङ मार्ग समेत निर्माण भईसकेको मेनेजर कविराज पौडेलले जानकारी दिए ।

आयोजनामा क-कस्को लगानी कति कति ?

१६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ५ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । स्वपुँजीको ५१ प्रतिशत स्वदेशी लगानी छ भने ४९ प्रतिशत भारतीय लगानी छ । आयोजना निर्माणका लागि स्वदेशी र विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

जसमा नेदरल्याण्डस डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ), जर्मन डेभलपमेन्ट बैंक (डिइजी) र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफआइडी) ले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेको कम्पनीका कार्यकारी निर्देशक आषिस गर्गले जानकारी दिए । निर्देशक गर्गका अनुसार स्वदेशीमा प्राइम बैंकको अगुवाइमा ५ नेपाली बैंकको ३ अर्ब रुपैयाँ लगानी छ ।

२०७६ पुसदेखि विद्युत उत्पादन गरिने:

२०७३ साउनदेखि निर्माण थालिएको आयोजनाबाट २०७६ पुसदेखि विद्युत् उत्पादन गरिसक्ने बताईएको छ । प्रशासन मेनेजर पौडेलका अनुसार तिब्र गतिमा काम भईरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने छ । पौडेलले भने, “निर्माण कामको अहिलेको गतिलाई कायम राख्दा २ वर्ष अगाडी नै विद्युत उत्पादन हुन्छ ।” अहिले करिब १२ सय कामदारले २४ सै घण्टा काम गरिरहेका छन् ।
विद्युत उत्पादन भएपनि प्रशारण लाईनको चिन्ता ।

सोलुखुम्बुमा उत्पादित विद्युत प्रशारणका लागि विद्युत प्राधिकरणले १३२ केभी सोलु करिडोर प्रशारण लाईन निर्माण गरिएको छ । सोलुखुम्बुको तिङ्लामा नै सब स्टेसनमा जोड्ने गरि काम भईरहेको छ ।

तल्लो सोलु अबको २२ महिनामा पुरा गर्ने लक्ष्य छ तर सोलु करीडोरको निर्माण नसकिने हो कि भन्ने हामीलार्इं चिन्ता छ, प्रशासन मेनेजर पौडेलले भने।

Share