साधुको जटाबाट समेत गाँजा बरामद गरिने स्थानमा लागूऔषध निषेध

साधुको जटाबाट समेत गाँजा बरामद गरिने स्थानमा लागूऔषध निषेध

पवित्र पाशुपत क्षेत्र पशुपतिमा महाशिवरात्रीलाई लक्षित गरेर अव उप्रान्त लागूऔषध गाँजा, भाङ, धतुरो निषेध गरेर ध्यान, योग साधनास्थलका रुपमा विकास गरिने भएको छ।

गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोट लगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन तदारुकतासाथ कार्य हुने भएको छ।

गत मंसिर तेस्रो सातादेखि पशुपति विकास कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्प लगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीन पटक गस्ती गरी लागु पदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगे हात पक्राउ शुरु गरिएको बताइएको छ।

राममन्दिर क्षेत्रका केही साधुको जटाबाट समेत गाँजा बरामद गरिएको छ, भष्मेश्वर अखडाका साधुलाई प्रहरी कारबाही भएको छ, यसक्रममा प्रहरीले धारिला चक्कु र तरबार बोक्ने एवं संकलन गरेर राख्नेलाई पनि कारबाही गरिएको छ । साधुको आडमा पशुपति क्षेत्रमा गाँजाको व्यापार हुन दिइन्न, यस्तो व्यापारले प्रत्येक वर्ष १० हजार युवा लागूऔषध जस्तो कुलतमा फस्ने गरेको कोषको आँकन रहेको छ।

राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाए पनि शिवरात्रीमा गाँजा, भाङ, धतुरो जस्ता लागूपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषले जनाएको छ । श्रीपञ्चमी दिनलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिए जस्तै शिवरात्रीलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवावर्गलाई अनुरोध गरिएको छ ।

लागूपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम शुरु गरेको जनाइएको छ ।

ध्यान, योग क्षेत्रमा क्रियाशील संघ संस्थासँग सहकार्य गरेर पशुपति क्षेत्रलाई साधनास्थलका रुपमा विकास गर्ने कोषको लक्ष्य राखेको छ। यसबाट खराब लतमा लागेका युवालाई सत्मार्गमा ल्याउन सहयोग पुग्नेछ । युवालाई दुर्व्यसनमुक्त बनाउनका लागि कोषले यस्तो अभियान शुरु गरेको हो । साथै पशुपति क्षेत्रलाई धुम्रपान, मांस, मदिरा बिक्री वितरण एवं ओसार पसार गर्न समेत निषेध गरिएको छ । जुन सकारात्मक पक्ष हो ।

Share