गाउँपालिकाबाट सुत्केरीलाई भत्ता, स्वास्थ्य सेविकालाई विमा

गाउँपालिकाबाट सुत्केरीलाई भत्ता, स्वास्थ्य सेविकालाई विमा

– भोजराज कार्की
माघ २७, २०७४ ।

सोलुखुम्बु : महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूती गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ। गाउँपालिकाकोतर्फबाट स्वास्थ्य संस्थामा प्रसूती गराउने आमालाई गाउँपालिकोतर्फबाट २ हजार रुपैया प्रोत्साहन भत्ता दिएको हो ।

आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले गत पौष २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो।

सोही निर्णय अनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सह संयोजक हेल्थ असिष्टेण्ट हरीप्रसाद आचार्यले जानकारी दिए।

नेपाल सरकारले प्रदान गर्दै आएको रु.१ हजार ५ सय र गाउँपालिको तर्फबाट प्रदान गर्ने रु. २ हजार गरि जम्मा तीन हजार पाँच सय रुपैया भत्ता बुझेका हुन्।

यस्तै अन्यत्र रेफर गर्नु परेमा नेपाल सरकारको तर्फबाट पाँच सय र गाउँपालिकाको तर्फबाट दुई हजार गरि जम्मा दुई हजार पाँच सय रुपैया भत्ता पाउनेछन्।

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकी मध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ।

साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनको लागि आवश्यक पुर्वाधारको तयारी अगाडी बढाईएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए।

अध्यक्ष किराँतीका अनुसार बुङमा भौतिक पुर्वाधार सबै तयारी भईसकेको र छेस्काममा बर्थिङ सेन्टरका लागि उपयुक्त ठाउँ कोठाको खोजी कार्य जारी रहेको पनि जानकारी दिए।

सोलुखुम्बुमा महाकुलुङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका गरि दुई गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूती गराउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ।

थुलुङ दुधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूती गराउनेलाई पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूती गराउनेलाई तीन हजार पाँच सय रुपैया प्रदान गर्ने निर्णयको गत माघ ५ गते देखि कार्यान्वयन भएको छ ।

स्वयम्सेविकालाई निःशुल्क स्वास्थ्य विमा

गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई निःशुल्क स्वास्थ्य विमा गरि दिने भएको छ । २५ जना स्वास्थ्य स्वयम्सेविकाहरु रहेको उक्त गाउँपालिकामा चैत्रबाट यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

५ जनाको परिवारलाई नेपाल सरकारले स्वास्थ्य स्वयम्सेविका भएकाले दिएको छुट पछि प्रिमियम तिर्नु पर्ने रकम रु.२ हजार २५० गाउँपालिकाले नै तिरिदिने भएको हो।

यस्तै महिला स्वास्थ्य स्वयम्सेविकालाई कामको मुल्यांकनका आधारमा प्रोत्साहन भत्ता बापत एक जनालाई बार्षिक १० हजार दिने भन्दै बजेट समेत विनियोजन गरिसकेको छ।

Share