वडा कार्यालय र माथिल्लो सोलु हाइड्रोपावर कम्पनीवीच सहमति

वडा कार्यालय र माथिल्लो सोलु हाइड्रोपावर कम्पनीवीच सहमति

– भोजराज कार्की
माघ २६, २०७४, सोलुखुम्बु ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ र ७ मा संचालित माथिल्लो सोलु हाइड्रोपावर कम्पनीले सामाजिक उत्तर दायित्वको क्षेत्रमा वडा कार्यालयसँग समन्वय गरेर मात्र काम गर्ने सहमति भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ का अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको वैठकमा यस्तो सहमति भएको हो।

वैठकमा माथिल्लो सोलु हाइड्रोवर कम्पनीले विद्युत उत्पादनका लागि हालसम्म संचालन गरेको विभिन्न गतिविधि तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा भएका कार्यको जानकारी गराउँदै आगामी दिनमा काम गर्दा अनिवार्य रुपमा वडा कार्यालयसगँ समन्वय गरेर मात्र गर्ने निर्णय भएको छ।

सामाजिक उत्तरदायित्व अन्र्तगत हाइड्रोपावरले उपलब्ध गराउने सेवा सुविधाको पहिचान गरी स्थानीयस्तरबाट आएको मागलाई संकलन गरी मुल्यांकनका आधारमा योजनाको प्राथमिकीकरण गर्न वडा कार्यालयले भूमिका निर्वाह गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

माथिल्लो सोलु हाइड्रोपावरको सामाजिक उत्तरदायित्व शिर्षकमा विनियोजन भएको बजेट र हालसम्म भएको प्रगतिका आधारमा वडा नं ६ र ७ दुवैमा जानकारी उपलब्ध गराउने निर्णय गरिएको छ ।

वडा कार्यालय ६ को कार्यालयमा सम्पन्न वैठकमा वडा अध्यक्ष, सदस्य, अन्य स्थानीय र माथिल्लो सोलु हाइड्रो पावरकोतर्फबाट वरिष्ठ जनसम्पर्क तथा प्रशासकीय अधिकृत बद्रीमान श्रेष्ठ सहभागी भएको थियो ।

२३.५ मेगावाट क्षमताको सोलुखोला जलविद्युत अयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयद्धारा सन २०१० मा अनुमती प्रदान गरेको थियो । सन २०१५ को मध्येबाट २२ महिनामा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निजि क्षेत्रको लगानीमा काम भइरहेको छ ।

आयोजनाको क–कस्को लगानी कति ?

आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । लक्ष्मी बैंक सहित नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एभरेस्ट, एनआइसी एशिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।

लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैकले ५०/५० करोड रुपैया, एभरेष्ट बैकको ४० करोड, एनआइसी एशियाको ३४ करोड १२ लाख ५० हजार, सेन्चुरी कमर्सियलको २४ करोड ३७ लाख ५० हजार लगानी गरेका छन् ।

यस्तै जलविद्युत कम्पनीको २० करोड, ग्लोबल आइएमई र लुम्बिनी बैकको १९.५०/१९.५० करोड रुपैयाँ बराबरको लगानी छ ।

आयोजनाको ऋण सम्झौता हुँदा अनुमानित लागत ४ अर्ब १० करोड रुपैयाँ निर्धारण गरिए पनि सम्पन्न हुँदा ४ अर्ब ४० करोड पुग्ने आयोजनाले अनुमान गरेको छ।

कूल लागतको २५ प्रतिशत स्वपुँजी रहने आयोजनाले जनाएको छ ।

Share