आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी

चीनले माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएको छ । भारतले आवश्यक परे आफ्ना सेना माल्दिभ्स पठाउने बताए लगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो ।

चीनले भारतको नाम नलिइकनै माल्दिभ्समा बाह्य हस्तक्षेपले स्थिति झन् गम्भीर बन्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले माल्दिभ्सको अहिलेको मौजुदा परिस्थिति उसको आन्तरिक मामिला भएकाले देशभित्रै सम्बन्धित पक्षसँग छलफल गरेर समुचित तरिकाले सुल्झाउनु आवश्यक रहेको बताए ।

प्रवक्ता सुवाङले भने, ‘अन्तर्राष्ट्रिय समुदायले माल्दिभ्समा सेना पठाएर कारवाही गर्नुको साटो उसकोे सम्प्रभुताको सम्मान गर्दै सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ अन्यथा कुनै पनि किसिमको बाह्य कारवाहीले त्यहाँको परिस्थित झन् जटिल बन्नेछ ।’

चीनले माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई समर्थन गरिरहेको भन्ने आरोपको समेत प्रवक्ता सुवाङले खण्डन गरे । चीन कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पूर्ण पालना गरिरहेको उनको दाबी छ ।

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले भारतलाई हस्तक्षेप गर्न आव्हान गरेपछि भारतले पनि आवश्यक पर्दा सेना पठाउन सकिने प्रतिक्रिया दिएको थियो।

राजनीतिक बन्दी रिहाई गर्ने सर्वोच्च अदालतले आदेश दिएपछि राष्ट्रपति यामिनले माल्दिभ्समा संकटकाल लागू गरे छ ।

–एजेन्सी ।

Share