समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने तयारी

समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौ । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा विहिवार सार्वजनिक गर्ने भएको छ।

संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु पर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको छैन।

राष्ट्रियसभा चुनाव सम्पन्न भई हिजै नतिजा आइसकेकाले विहिवार प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गरेलगत्तै विहिवार नै दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवार मध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालका अनुसार बन्द सूचीको क्रमसंख्या नमिचि क्लस्टर मिलाएर नाम सिफरिस गर्न दलहरुलाई तीन दिनको समय दिइने छ ।

दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह र क्रम संख्या मिले नमिलेको जाँच गरी नमिलेको भए मात्रै दलहरुलाई सच्याउन पुनः दुई दिनको समय दिइने छ । त्यसपछि लगत्तै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष पेश गरिने आयोगका प्रवक्ता ढकालले बताए ।

आयोगले औपचारिक घोषणा नगरे पनि उनीहरुले प्राप्त गरेको मतको आधारमा एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६/६ सिट प्राप्त गरेका छन् ।

Share