कूटनीतिक आचारसंहिताको घोर उल्लंघन

कूटनीतिक आचारसंहिताको घोर उल्लंघन

– अधिवक्ता सानुराजा पुरी

नेपालको कूटनीतिक सम्बन्ध विस्तारको इतिहास लामो छ । सन् १८१६ मा वेलायतसंग गाँसिएको कूटनीतिक सम्बन्ध सन् २०१८ सम्म आइपुग्दा १५८ देशसंग नेपालको सम्बन्ध विस्तार भएको छ ।

समय सन्दर्भ र विश्व जगतमा आएको परिवर्तनसंगै हामीले हाम्रा धेरै मान्यता र परम्परामा सुधार र संशोधन गर्दे लैजानु पर्दछ । समयको गतिसंगै हाम्रो परराष्ट्र नीतिमा भएको परिवर्तन र विश्वसामु नेपालको उपस्थिति र यस परिवेसमा हामीले गर्ने व्यवहारले अन्तर्राष्ट्रिय जगतमा नेपालको मान र शान वढ्ने हुन्छ ।

कूटनीतिक मर्यादाका लागि अन्तर्राष्ट्रिय कानूनको रुपमा Vienna Convention on Diplomatic Relations -1961 (Vienna on 18 April 1961) /Vienna Convention on Consular Relations of 1963 रहेको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले २०६८ सालमा कूटनीति आचारसंहिता जारी गरेको थियो । यस आचारसंहिताको व्यापक उल्लंघनका बारेमा समय समयमा आवाज उठिरहेको छ र आगामी दिनमा पनि आवाज उठिरहने छ, हामीले हाम्रा व्यवहारमा परिवर्तन नगर्ने हो भने।

कूटनीतिक आचार संहिता-२०६८ को प्रस्तावनामा नेपाल सरकारका तर्फबाट कुटनीतिक मर्यादालाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रचलन अनुरुपमा नेपालको कूटनीतिक्षेत्र संचालन गर्न यो आचारसंहिता जारी गरिएको थियो ।

आचार संहिताको पालनकर्ताको रुपमा आचार संहिताको दफा ३ मा लेखिएको छ “आचार संहिता सार्वजनिक पदधारण गरेका व्यक्तिहरु र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीहरु समेतलाई लागू हुनेछ । र आचार संहिताको पालना समेत उनीहरुको कर्तव्य हुनेछ ।” विदेशी मित्र राष्ट्रका सरकार प्रमुख, मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसंगको भेटमा परराष्ट्र मन्त्रालयका कर्मचारीको उपस्थितिलाई अनिवार्य गरिएको छ ।

शिष्टाचर भेटघाटको विषयमा भए गरेका कुराकानीको रेकर्ड राख्ने काम र सक्षिप्त टिपोट तयार गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ। औपचारीक समारोहको आयोजना सहभागिता एव शिष्टाचार विदेशी मित्रराष्ट्रसंग गरिएको सम्झौता, प्रतिवद्धता एवम कूटनीतिक पत्राचारका सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने र परराष्ट्र मन्त्रालयले नेपाल सरकारको सम्बन्धित निकायमा समयमै जानकारी दिनु पर्नेछ । विदेशी सरकारका समकक्षी वा अतिथि नेपालको भ्रमणमा आउदा परराष्ट्र मन्त्रालयको सहमती लिनु पर्ने व्यवस्था गरिएको छ।

विदेश भ्रमण, प्रतिनिधित्व गर्दा सम्वोधन गर्दा टिप्पणी गर्दा परराष्ट्र मन्त्रालयको राय लिनु पर्ने व्यवस्था गरिएको छ । पोशाकमा एकरुपता ल्याउन भाषालाई शिष्ट बनाउन समेत आचार संहिताले निर्देश गरेको छ । कूटनीतिक आचार संहिताको दफा १ देखि १२ सम्मले मुलुकको कूटनीतिक मर्यादा कायम राख्नका लागि विभिन्न व्यवस्था गरेको छ ।

यस आचार संहिताको पालना गराउन एक उच्चस्तरीय अनुगमन समिति र एक स्थायी अनुगमन समितिको व्यवस्था गरेको छ । आचार संहिताको दफा ११.२ उच्चस्तरीय अनुगमन समितिः नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणी सरह वा सोभन्दा माथिका पदाधिकारीका हकमा एक उच्चस्तरीय अनुगमन समिति रहने छ जसमा (क) परराष्ट्रमन्त्री संयोजक सदस्यहरुमा ः (ख) नेपाल सरकारका मुख्यसचिव (ग) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (घ) सचिव, कानून तथा न्याय मन्त्रालय (ङ) सचिव, गृह मन्त्रालय (च) सचिव, परराष्ट्र मन्त्रालय यस अुगमन समितिको सचिवको काम परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालले गर्ने व्यवस्था मिलाइएको छ।

आचार संहिताको दफा ११.३ स्थायी अनुगमन समितिः नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा मुनिका पदाधिकारीको हकमा स्थायी अनुगमन समिति रहने छ जसमा (क) सचिव, परराष्ट्र मन्त्रालय संयोजक सदस्यहरु (ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य (ग) सहसचिव, अर्थ मन्त्रालय (घ) सहसचिव, कानून तथा न्याय मन्त्रालय (ङ) सहसचिव, गृह मन्त्रालय (च) सहसचिव, सामान्य प्रशासन मन्त्रालय (छ) शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय र स्थायी अनुगमन समितिको सचिवको काम परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापालले गर्ने छन् ।

नेपालको कूटनीति क्षेत्रमा हुने आमन्त्रित हस्तक्षेपलाई रोक्न नेपाल सरकारले कूटनीतिक आचार संहिता जारी गरेको प्रष्ट हुन्छ । आचार संहिता जारी भएपछि पनि देशको कूटनीति क्षेत्रमा मर्यादा शिष्टता आदि विषयमा खासै फरक आएको छैन ।

देशका शिर्ष नेतादेखि कर्मचारी संयन्त्रका उच्च तहका व्यक्तिसम्मले यस आचार संहिताको उल्लंघन गरिरहेका छन् । यस आचार संहिताको पालना सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्नु पर्ने हो तर वहाँहरुबाटै यसको उल्लंघन भैरहेको छ । नेताहरुले विदेशी समकक्षीलाई भेटघाटको सवाल होस् वा राजदूत वा विशेष दूतलाई भेटघाटको अवसर किन नहोस् यस आचार संहिताको कुनै ख्याल गरेको देखिदैन।

देशको लामो संक्रमणकालीन अवस्थामा शक्ति राष्ट्रका राजदूत वा उपनियोग प्रमुखसंग मुलुका प्रधानमन्त्रीले भेटको प्रसंग होस् वा शक्तिकेन्द्र भनिएका विदेशी रादूतावासमा राजदूतलाई पटक पटक भेटीरहेको प्रसंग किन नहोस, के हाम्रा नेता को मानसिकता पराधिन भएकै हो त ? दृश्यमा आएका वा दृश्यमा नआएका देशका प्रमुख राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्रीले द्धारीका होटलमा पालै पालौ भारतका विशेषदूतलाई भेटेको प्रसंग हुन वा धेरै पटक भारतीय रादूतावास गइयो यस पटक पत्रकारहरुको एम्बुसमा परियो भनेका प्रसंग किन नहुन कूटनीतिक आचार संहिताको नेतागणलाई हेक्का छ कि छैन ?

केहि दिन अगाडी भारतका विदेश मन्त्री सुष्मा स्वराजको २४ घण्टे नेपाल भ्रमणमा फेरि एक पटक नेपाली जनताको शिर झुकेको हो कि? आशंका आम नेपालीको छ । यसको कारण भनेको नेपालका पूर्व प्रधानमन्त्रीहरु, नेताहरु सबै भारतका नेता वा राजदूतलाई भेट्दा मर्यादा कूटनीति आचार सहिता सबै विर्सन्छ भने आभाष फेरि एक पटक गराएको छ ।

भारतका विदेशमन्त्री स्वराजले दुई जना पूर्व प्रधानमन्त्री, यतिवेला बामगठबन्धनका दुई नेतालाई वान अन वान को करिव ५० मिनेटको भेटघाट गरे । यसमा स्वराजले नोट टेकिङ का लागि आफनो साथमा सहयोगी राखिन–पत्रपत्रिकामा प्रकाशित समाचार अनुसार) तर नेपालको तर्फबाट पूर्व प्रधानमन्त्री भैसकेका र भोलिको प्रधानमन्त्रीका रुपमा हेरिएका के.पि. ओली ले परराष्ट्र मन्त्रालयका कुनै पदाधिकारीलाई टिपोटका लागि राखेनन् ।

त्यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री प्रचण्डले पनि यस किसिमको दुष्शाहस गरेनन् किन ? कूटनीतिक अभिलेख राख्नको लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्यहाँ हुनु आवश्यक थियो तर कसैले त्यसको महशुस गरेनन् । कूटनीतिक च्यानलमा परराष्ट्र मन्त्रालयलाई वाइपास गरेको यो पहिलो घटना भने होइन । यस्ता घटना धेरै पटक भएका छन् जसको लेखाजोखा छैन ।

कूटनीतिक आचार सहिता–२०६८ परराष्ट्र मन्त्रालयबाट जारी गर्ने क्रममा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा यो आचार संहिता जारी भएको थियो । विश्वव्यापीकरणको लहर, धेरै देशसंगको नेपालको दौत्य सम्बन्ध, प्रविधिको विकास आदि कुराले नेपाल पनि अछुतो रहन नसकेको परराष्ट्र सम्बन्धमा आएको नयाँ आयाम आदि कारणले पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले कूटनीति मर्यादा कायम राख्न देशको इज्जतलाई, शिरलाई उचो राख्न ल्याएको आचार संहिताको उल्लंघन हुदाँ उनले टिवट् मार्फत यसको जानकारी आम नागरिकलाई दिदै आएकोे छ।

नेतागणबाट उल्लंघन भएको कूटनीतिक आचार संहिताको पालना गराउन दुई संयन्त्र छ, उच्चस्तरीय अनुगमन समिति यसले नेपाल सरकारका राजपत्रांकित विशिष्ट र सो भन्दा माथिका पदाधिकारीको लागि गठन भएको र स्थायी अनुगमन समिति यसले नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी र सो भन्दा मुनीका पदाकिारीको विषयमा कार्य गर्ने भनिएको छ । तर यि दुवै समितिले हालसम्म कसैलाई पनि कूटनीति आचार संहिताको उल्लंघनको विषयमा सचेत गराएको छैन ।

कूटनीतिक आचार संहिताको दफा ११.५ “सार्वजनिक पदधारण गरेका व्यक्तिले यस आचार संहिता विपरित आचरण गरेको पाइएमा सोको सूचना यथाशीघ्र त्यस्तो अनुगमन समितिलाई उपलब्ध गराउनु सार्वजनिक पदधारण गरेका व्यक्ति तथा जोसुकै नेपाली नागरिकको कर्तव्य हुनेछ ।” यस दफाको मनसाय कूटनीतिक आचार संहिताको उल्लंघनको विषयमा सो अनुगमन समितिलाई जानकारी दिनु नेपाली नागरिकको कर्तव्य हो।

अब प्रश्न उठ्छ राष्ट्रिय दैनिक पत्रपत्रिका, टेलिभिजनका पर्दा, समाजिक संजालहरुमा आएका समाचार लेख आदिले कूटनीतिक आचार संहिता उल्लंघन भएको सूचना प्रयाप्त भएन र ? कि कुनै नेपाली नागरिकले लिखित सूचना निवेदन मार्फत दिनु पर्ने हो ? अदालतमा समेत कतिपय विषय अदालत स्वयमले जानकारीमा राख्नु पर्ने विषय हुन्छ ।

जस्तै वि.स. को नयाँ वर्ष बैशाख १ गते पर्दछ । हो त्यस्तै कुटनीतिक आचार संहिता उल्लंघन अनुगमन समितिलाई कतिपय विषय स्वयम जानकारीमा छ तर समिति निरिह छ, कमजोर छ भन्दा फरक नपर्ला । कूटीतिक आचार संहिता जारी भएको ६ बर्षमा कसैलाई सचेतसम्म गराइएको छैन।

कहिले कहि लाग्दछ यो कूटनीतिक आचार संहिता उल्लंघन कै लागि बनेको त हैन ? कूटनीतिक आचार संहिताको घोर उल्लंघन किन हुन्छ भने यो मुलुकमा कतिपय नेतागणहरुको स्वाभाव आज पनि सामन्ती संस्कारको छ । नेतागणलाई सबै विषयमा जानकारी नहुन सक्दछ । त्यस विषयमा जानकारी राख्ने व्यक्ति समुहसंग छलफल परामर्श गर्न सकिन्छ ।

स्वराजलाई सोल्टीमा पूर्वप्रधानमन्त्रीहरुले भेट हुदैन भन्ने होइन तर कूटनीतिक आचार संहितालाई एक पटक अध्ययन गरिदिएको भए के हुने थियो। अनि आम जनताको बुझाई हाम्रा नेताहरु भारतको पराधिन मानसिकतामा पर्ने थिएन ।

कूटनीतिक आचार संहिता केवल कागजको खोस्टो मात्र होइन यसको पालनाले राष्ट्रको इज्जत बढाउछ, नेता प्रति जनताको सम्मान बढाउँछ, जनताको सद्भावले नेताको शिर उच्च हुन्छ । तसर्थ कूटनीतिक आचार संहितको पालना गरौ राष्ट्रिय स्वाभिमानलाई पराधिन हुनबाट जोगाउँ।

Share