मृगौला बिरामी जलजलाका लागि सोलुखुम्बुबासी जुटे

मृगौला बिरामी जलजलाका लागि सोलुखुम्बुबासी जुटे

भोजराज कार्की सोलुखुम्बु  । अर्घखाँचिकी मृगौला पिडित जलजला परियारका लागि सहयोगार्थ सोलुखुम्बुका दुईवटा सामाजिक संस्थाले सहयोग संकलन अभियान चलाएको छ ।

दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्मा संस्था नेपाल र लौरेश्वर दलित युवा समाज तिङ्लाले संयुक्त रुपमा सहयोग संकलन अभियान चलाएको हो ।

अभियानको दुई दिनसम्म ४२ हजार ३५० रुपैया सहयोग संकलन भएको लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी गराउँदै यस अभियानलाई निरन्तरता दिईने बताएका छन् ।

अभियानको पहिलो दिन शनिबार ११ हजार ८५० रुपैया र दोस्रो दिन आईताबार ३० हजार ५०० सहयोग संकलन भएको अध्यक्ष नेपालीले जानकारी दिए।

सोलुखुम्बुबाट ५० हजार भन्दा बढी रुपैया सहयोग संकलन गरेर बुझाउने लक्ष्य रहेको दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्मा संस्था नेपालका संरक्षक बिजय घिमिरेले जानकारी दिए ।

अभियानमा सबैभन्दा बढी केटिएमसिटिका प्रोपाईटर आङथोप्चेन शेर्पा र मिङ्मा नुरु शेर्पाले ५/५ हजार रुपैया सहयोग प्रदान गरेको छ।

सानो सहयोगले मानिसको ज्यान बचाउन सकिन्छ भने किन सहयोग नगर्ने भन्दै सदरमुकामबासी सबैले सहयोग गरे, घिमिरेले भने, “एक नेपालीले अर्को नेपालीलाई बचाउनु हामी सबैको कर्तव्य हो, जलजला एक कलाकार पनि हो स्वरकी धनी उनी नेपालको सम्पत्ति हो त्यसैले पनि सहयोगको लागि हामी जुटेका छौ ।”

दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही बिजय घिमिरे विश्वकर्मा संस्था नेपालका संरक्षक बिजय घिमिरेको नेतृत्वमा लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपाली, उपाअध्यक्ष खगेन्द्र सार्की, कोषाध्यक्ष लालबहादुर नेपाली, सुरेन्द्र नेपाली सहितको टोलीले सहयोग संकलन गरिरहेका छन्।

टोलीले संकलन गरेको रकम अस्पतालमा पत्रकार सम्मेलन गरि हस्तान्तरण गर्ने अभियन्ता बिजय घिमिरेले बताए । उनले भने, “एक थुकी सुकी सय थुकी नदि भने झै, सोलुखुम्बुबाट ५० हजार संकलन भयो भने अन्य ७६ जिल्लाबाट यसैगरि सहयोग संकलन हुनेभए ३८ लाख बढी जम्मा हुन्छ, उनलाई उपचार गरेर पनि अरुलाई पनि सहयोग गर्न सक्ने रकम जम्मा हुन्छ ।”

अर्घखाँचिको भुमिकास्थान नगरपालिका २ धाकाबाङमा जन्मिएकी २१ बर्षिया कलाकार जलजला परियारको दुवै मृगौला फेल भएपछि अहिले शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको छ ।

उनको उपचारको लागि २५ लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपछि सहयोगको याचना गरिएको छ । नेपाली तारा सिजन तीनको उत्कृष्ट चारमा पर्न सफल जलजला परियारलाई उपचारको लागि देशको विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भईरहेको परिवार श्रोतले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा कठिन नभएको जलजलाको भनाई छ ।

Share