तल्लो सोलु जलविद्युतको असर ८ सय रोपनी खेतमा

तल्लो सोलु जलविद्युतको असर ८ सय रोपनी खेतमा

भोजराज कार्की/सोलुखुम्बु । तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावाट) को कारण तिङ्लाका ८ सय रोपनी खेत सिञ्चाईबाट बञ्चीत भएका छन्।

सिञ्चाईको लागि प्रयोग गरिएको विभिन्न कुलाहरुलाई आयोजनाले क्षती पु¥याएपछि करिब ८ सय रोपनी खेतमा सिञ्चाई गर्न नसकिएको एमालेका स्थानीय नेता समेत रहेका रामकुमार राईले बताए ।

आयोजनालाई बारम्बार स्थानीयले कुलो मर्मतको लागि अनुरोध गरेपनि वास्ता गरेन राईले भने, “अहिलेसम्म स्थानीयको धैर्यताको बाँध टुटेको छैन, यो बाँध टुट्यो भने आयोजनाले थेग्न गाह्रो हुन्छ ।”

अहिले हिउँदे खेती भएकाले सिञ्चाई अनिवार्य भएपनि कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना बढेको अर्का स्थानीय पुर्णबहादुर खड्काले बताए।

लामोसमयदेखि पानी नपर्नु र सिञ्चाई पनि गर्न नसक्दा कृषकले हिउँदे आलु र गहँु खेतीमा ठूलो नोक्सानी बेहोर्नु पर्ने भयो खड्काले भने, “सिञ्चाई नहुँदा गहुँ सकिसक्यो, आलु पनि राम्रो छैन ।”

आयोजनालाई बारम्बार सम्झाउँदा समेत वेवास्ता गरेको स्थानीयको आरोप छ । आयोजनाले बातवरणीय प्रदुषणलाई ध्यान नदिएको स्थानीय माओवादी केन्द्रका नेता समेत रहेका ललित सिं कार्कीले भने, “योजनाले काम गर्दा वरिपरिको वातावरणमा कुनैपनि ध्यान दिएन, यसको असर जलबायु परिवर्तनमा परिरहेको छ ।” लामो समयदेखि पानी परेको छैन ।

सगरमाथाको जिल्ला भएपनि अहिले प्रशस्त हिउँ समेत पर्न सकेको छैन, यसले सबैलाई चिन्तीत बनाएको छ, स्थानीय खड्क राईले भने, “पहिला पहिला पुसको पहिलो सातामा नै तलतलसम्म सेताम्मे हिउँ परेको देखिन्थ्यो अहिले त हिमालमा समेत हिउँ देखिन्दैन ।”

खानेपानीको मुहान दुषित हुनुका साथै अन्य फोहोरजन्य बस्तु समेत जथाभावी फाल्नाले वातावरण प्रदुषण बढेको स्थानीय हर्कबहादुर राईको भनाई छ।

आयोजनाले सामाजिक उत्तरदायित्वको काम गर्नु पर्ने भएपनि बोल्न सक्ने र आयोजनाका केहि व्यक्तिसंग नजिक हुनेलाई मात्र सहयोग गर्ने अन्य सोझासिधा जनतालाई बेवास्ता गर्ने गरेको उनको भनाई छ । उनले भने, “खेतमा सिंचाईको लागि प्रयोग गर्ने कुलो त बिगारि दियो, उता पानीको मुहान उस्तै दुषित बनाई दिएको छ, यसले जनताको स्वास्थ्यमा असर परिरहेको छ ।”

आयोजनाको ड्याम स्थलदेखि टनेलसम्म २ सय ५० बढी घरधुरी अतिप्रभावितमा पर्छन् । उनीहरुको घर सुरुङमार्ग हुदै बग्ने खोला भन्दा तल पर्छ । यता आयोजनाका कविराज पौडेलले स्थानीयको समस्याको तत्काल सम्बोधन हुने आश्वासन दिएका छन् ।

Share