अवैध रुपमा सञ्चालित दुई कजेजमाथि तालाबन्दी

अवैध रुपमा सञ्चालित दुई कजेजमाथि तालाबन्दी

रोल्पा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाले नियम विपरित सञ्चालित रोल्पाका दुई टेक्निकल कलेजमा आइतबार तालाबन्दी गरेको छ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बिरबहादुर घर्ती ‘हावा’ को नेतृत्वमा गएको विद्यार्थी संगठनका नेताको एक टोलीले लिबाङमा सञ्चालित ‘साराम्सी टेक्निकल कलेज’ ‘आइटी पार्क’ मा तालाबन्दी गरेको हो ।

‘साराम्सी टेक्निकल कलेज’ ले १८ महिने जे.टी.ए., भेटेनरी र आई.टी. पार्क एजुकेशनल एकेडेमीले १० महिने उद्यम विकास सहजकर्ता तालिम सञ्चालन गर्दै आइरहेको थियो। सञ्चालित दुई कलेजमा छानबिनको लागि तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नेता हावाले जानकारी दिए।

लामो समयसम्म स्थानीय प्रशासन मौन रहेकाले आफूहरुले प्रशासनको ध्यानाकर्षण गराउन तालाबन्दी गरी साँचो स्थानीय प्रशासनलाई बुझाएका छौं’ विद्यार्थी नेता हावाले भने, ‘अब छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने जिम्मा स्थानीय प्रशासनको हो’ ।

यदि प्रशासनको ध्यानाकर्षण गराउँदा पनि छानविन नभए फेरी अर्काे कदम चाल्न आफूहरु तयार रहेको समेत अखिल क्रान्तिकारीका केन्द्रीय नेता हावाले बताए।

यता आईटी पार्क एजुशेशन टेक्नीकल कलेजका सञ्चालक मध्येका बिमल डाँगीले भने आफूहरुसँग मान्यता प्राप्त कागजातहरु रहेको तर्क गरेको छ। डाँगीले आफूहरुसँग कुनै कागजातहरु नहेरीकनै बिना अर्थमा तालाबन्दी गर्न नहुने समेत बताएको छ ।

जिल्ला शिक्षा कार्यालय रोल्पाले भने यस विषयलाई तथ्यको आधारमा पुष्टी गर्ने र आवश्यक कागजातहरु तयार गर्ने बताएको छ ।
अहिले यस विषय उपर अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भटटराईले बताए ।

Share