६९ औं गणतन्त्र दिवस मनाउँदै

६९ औं गणतन्त्र दिवस मनाउँदै

भारतले आज ६९ औं गणतन्त्र दिवस मनाइरहेको छ । दिवसका अवसरमा नयाँ दिल्ली स्थित राजपथमा औपचारिक कार्यक्रम भइरहेको छ । कार्यक्रममा विभिन्न समुदायका झाँकी र सैन्य परेडका साथै सैन्य शक्तिको पनि प्रदर्शन भइरहेको छ ।

यसअघि कुनै एक देशको राष्ट्राध्यक्षलाई गणतन्त्र दिवसको मूल समारोहको प्रमुख अतिथि बनाउने गरेको भारतले यसपटक आसियानका १० राष्ट्राध्यक्षलाई प्रमुख अतिथि बनाएको छ।

औपचारिक कार्यक्रममा ब्रुनाई, म्यान्मार, कम्बोडिया, इण्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनामका राष्ट्राध्यक्ष सहभागी छन्।

पूर्वी एशियामा चीनको बढ्दो प्रभाव रोक्नका लागि भारतले आसियान देशका राष्ट्राध्यक्षलाई गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा बोलाएको विश्लेषण गरिएको छ।

गणतन्त्र दिवसको समारोहलाई लक्षित गरी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । अग्ला भवनहरुमा आधुनिक हतियार सहित सुरक्षाकर्मी तैनाथ गरिएको छ भने सुरक्षाका लागि प्रहरी र केन्द्रीय सुरक्षा बलका ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मानिसहरुको बढी भीडभाड हुने स्थान, रेल्वे स्टेशन, बस स्टेशन, महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय संचार माध्यामले उल्लेख गरेका छन्।

– एजेन्सी ।

Share