खुम्बुक्षेत्रमा हिमपातका कारण ४ वटा बिमानको लुक्लामै वास

खुम्बुक्षेत्रमा हिमपातका कारण ४ वटा बिमानको लुक्लामै वास

भोजराज कार्की सोलुखुम्बु । हल्का वर्षासंगै हिमपात भएपछि तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा ४ वटा बिमान रोकिएका छन्। बैकल्पिक बिमानस्थल नहुँदा उक्त बिमानहरु लुक्लामा नै रोकिएको एयर ट्राफिक कन्ट्रोलर लिला श्रेष्ठले जानकारी दिए ।

एयर ट्राफिक कन्ट्रोलर श्रेष्ठका अनुसार तारा एयरको २, समिट एयरको १ र सिता एयरको १ वटा बिमान आज लुक्लामा नै बसेका छन्।

बिमान आज बिहान करिब ८ बजे देखि १० बजेसम्म लुक्लामा अवतरण गरिएको थियो । अवतरण पश्चात काठमाडौ बाहेक अन्य बिमानस्थल बन्द हुँदा उडान हुन नसकेको श्रेष्ठले भने, “काठमाडौ बाहेक अन्य बैकल्पिक बिमानस्थल नहुँका उडान भर्न नमिल्ने नागरिक उड्यन प्राधिकरणको नियम छ।”

नियमको पालना गर्दा गर्दै बिहान ११ बजेदेखि खुम्बुक्षेत्रमा हिमपात भएपछि बिमान लुक्लामा नै रोकिएको हो । लुक्लाबाट काठमाडौका लागि करिब ३० जना विदेशी पर्यटक रहेको बुझिएको छ । लुक्लामा हिउँ परेसंगै उनीहरु हिउँसंगै रमाएर बसेका छन् ।

जिल्लाकै अर्को बिमानस्थल फाप्लुमा पनि कुनै उडान हुन नसकेको नेपाल नागरिक उड्यान प्राधिकरण फाप्लुले जनाएको छ।

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा हल्का बर्षात भएको छ । हल्का वर्षातसंगै माथिल्लो क्षेत्रमा हिमपात भएपछि अत्याधिक चिसो महशुस गरिएको छ।

Share