नेपाल-भारत सीमा नाका आधार

नेपाल-भारत सीमा नाका आधार

नेपाल–भारतबीच करिब १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा सीमांकन गर्ने काम मध्ये ९७ प्रतिशत आज भन्दा २६ बर्ष अगाडि भएको थियो। नेपाल–भारत वीचको सीमानाको विषयमा चिसोपना समय समयमा आउने गरेको छ । अंग्रेज सरकारको पालामा नै इलामदेखि दार्चुलासम्म हालको २६ जिल्ला ८ हजार ५ सय ५३ सीमा खम्बा राख्ने सहमती भएको थियो ।

अंग्रेज सरकारको पालामा ९ सय १६ सीमा खम्बा बनाइयो र ४ हजार ३ सय ६० सीमा खम्बा जमीनमा गाडीयो पछि ३ हजार २ सय ७७ सीमा खम्बा निर्माण बाँकी रहयो। सो मध्ये करिब १ हजार ६ सय ३८ सीमा खम्बा नदी खोला आदि भएको स्थानमा भौगोलिक विषमताको कारण निमार्ण गर्न सकिएन।

सीमा खम्बा नभएका स्थानको बारेमा नक्सामा चित्राङ्कन गरिएको थियो । नेपाल–भारतबीचको वर्तमान अन्तर्राष्ट्रिय सीमा ४ वटा सन्धि एवं सम्झौताका आधारमा कायम भएको पाइन्छ।

१. सन् १८१६ मार्च को सुगौली सन्धिका आधारमा कायम भएको सीमाना
२. सन् १८१६ डिसेम्बर ८को पुरक सन्धिका आधारमा कायम भएको सीमाना
३. सन् १८६० नोभेम्बर १ को सम्झौताका आधारमा कायम भएको सीमाना
(बाँके, बर्दियका, कैलाली कन्चनपुर फिर्ता)
४. सन् १८७६ जनवरी ६ को सम्झौताका आधारमा कायम भएको सीमाना

माथिका आधारमा नेपाल–भारत वीचको सीमाना कायम भएको पाइन्छ । कालापानी, सुस्ता लगायतका क्षेत्रमा पटक पटक भारतले सीमा जोडिएको नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । नेपाल–भारत बीचको सीमाना खुल्ला रहेको छ यसमा दुवै देशका नागरिकहरु वेरोकतोक दुवैतर्फ आवत–जावत गरिरहेका छन्।

नेपाल–भारतबीचको सीमा रेखामा नेपालको २६ जिल्ला र भारतको ४ वटा प्रदेशको २० जिल्लाको सीमा जोडिएको छ । सो सीमा जोडिएको स्थानलाई छुट्याउन स्थापना गरिएको जंङ्गे पिलरको १०÷१० गज चौडालाई खाली छोडिएको थियो । दुवै देशको सहमती यस क्षेत्रलाई खुल्ला राख्नु पर्ने कुनै पनि भौतिक संरचना घर टहरा सडक आदि बनाउन नपाइने प्रावधान थियो ।

यस प्रावधानलाई भारतले उलंघन गरेको छ। कहि सडक कहि मानिसलाई बस्ती बसाउन भारतले लगाएको छ । इलामको पशुपतिनगरदेखि दार्चुलासम्म यस्ता गतिविधि गरि दिँदा बेलाबेलामा झडप, बादविवाद र सीमाक्षेत्रमा तनाव हुदै आएको छ ।

यही तनावको पछिलो घटना वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि मिचेर सीमा स्तम्भ गाड्न लागिएको विषयमा नेपाल सरकारले आफनो भनाई नापी विभाग मार्फत राखेको छ । नेपाल भारत संयुक्त प्राविधिक समितिले तयार गरेको स्ट्रिप नक्शाका आधारमा पिलर गाड्ने काम भैरहेको अवस्थामा यो विवाद आएको हो।

नेपाल सरकार नापी विभागले पत्रकार सम्मेलन मार्फत सो स्थानमा सीमा नमिचिएको दावि गरे पनि स्थानीयहरुको भनाईलाई आधार बनाउँदा वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमिमा भारतले धावा वोलेको प्रष्ट देखिन्छ । सो स्थानको पिल्लर नं ३९१, ३९२ र ३९३ मा नेपालले कति भू–भाग गुमायो वा कति भू–भाग भारतको हो यकिन हुन सकेको छैन ।

नेपाल भारत सीमामा ५७ वटा खोला नदीमा ६ सय ४० कि.मि. सीमा पर्दछ । जसमध्ये महाकाली नदीमा मात्र करिब २ सय कि.मि., नारायणी नदीमा २० कि.मि. मेची नदीमा ८० कि.मि.र बाकी ३४० अन्य साना ५४ वटा नदीमा पर्दछ ।

यसको सीमा नदीको वहावसंगै फरक फरक हुने गरेको छ । नेपाल–भारतको सीमा स्थिर सिद्धान्तमा आधारित भएकोले नदी वरपरको जग्गामा विवाद आउछ नै तर भारतले बलपूर्वक नेपाली भूमि अतिक्रमण गरिरहेको छ ।

सन् १९८१ फेब्रुअरीमा नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेटिसी) गठन गरि सीमा विवाद समाधान गर्ने भनिए पनि सो समितिले ९७ प्रतिशत कार्य पूरा गरेको भनि पनि सुस्ता, कालापानी, विरगन्जको सिर्सिया, भजनी जस्ता स्थानको समस्या समाधान गर्न सकेको छैन।

– सानुराज पुरी ।

 

Share