हिमपातका कारण रोल्पामा अत्यधिक चिसो बढ्यो

हिमपातका कारण रोल्पामा अत्यधिक चिसो बढ्यो

मनिषा राई/रोल्पा । रोल्पाको उत्तरी भेगमा हिमपात भएको छ । जलजला पहाड आसपासका क्षेत्रमा हिमपात भएको छ ।  जसका कारण जनजीवन प्रभावित भएको बताइएको छ । राती परेको पानीका कारण माडी गाउँपालिका सहित अन्य क्षेत्रमा समेत चिसो बढेको छ।

माडी गाउँपालिका १ साविकको ओट ४ काटेमा रातीको हावाहुरीसंगै परेको पानीले बिजुलीको पोल ढालेको छ । जसको कारण बिद्युत अवरुद्ध भएको त्यहाँबाट बिर बिक्रम पुनमगरले बताए।

त्यसैगरी पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको सुनछहरी गाउँपालिकाको सेरमको तिलाचन तारेधुरी, रौनेधुरी, जैमाकसलाको बजुधुरी, गामको माथिल्लो भेगतिर हिउँ परेको छ।

हिउँ जमेको हुँदा जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित हुने भएकाले सचेत रहन जिल्ला अस्पताल रोल्पाले सुझाव दिएको छ।

चिसोका कारण निमोनिया, रुघाखोकी, ज्वरो जस्ता समस्याहरु आउने हुँदा सबैमा स्वास्थ्यको ख्याल गर्न जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले आग्रह गरेको छ।

चिसोको समयमा खानपिनमा पनि बिशेष ध्यान दिनु पर्ने हँनाले प्याक गरिएको खानेकुराहरु नखान, लामो समयसम्म बाहिर ननिस्कन, तातो तातो कपडा लगाउन, झोलिलो पदार्थ प्रशस्त पिउन पनि सबैमा आग्रह गरीएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुल वहादुर डागीले आग्रह गरे।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका रोल्पाका किसानलाई भने गए रातीको पानीले धेरै राहत पुर्याएको छ। पानी र बाक्लो हिउँले बालीनालीमा हरितपन साथै गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने आशले खुशी भएका छन् ।

पानी परेको बेला चिसो महशुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जाने मौसमविद विभुति पोखरेलले बताइन् ।

Share