चुनावका लागि आजै उम्मेद्वारी दर्ता

चुनावका लागि आजै उम्मेद्वारी दर्ता

काठमाडौ । राष्ट्रियसभा चुनावका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुन लागेको हो।

५६ सिटका लागि गरिने निर्वाचनमा भाग लिने उम्मेद्वारहरुले आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

दिउँसो चार बजेसम्म सम्बन्धित ७ वटै प्रदेशका उच्च अदालत रहेका स्थानमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने छ।

प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको डोटीमा रहेका उच्च अदालत रहेका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख गरी १५ सय ६ र प्रदेश सांसद ५ सय ५० गरी जम्मा २ हजार ५६ जना मतदाताले मतदान गर्न पाउनेछन्।

स्थानीय तहका प्रमुख/उपप्रमुखको एक जना बराबर १८ र प्रदेश सांसदको एक जना बराबर ४८ मतभार तोकिएको छ ।एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने राष्ट्रिय सभा निर्वाचनबाट हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचन माघ २४ गते हुँदैछ।

Share