२ सय ५ सामुदायिक बनको खाता रोक्का

२ सय ५ सामुदायिक बनको खाता रोक्का

मनिषा राई/रोल्पा । रोल्पाका २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का भएको छ । सामुदायिक बन विकासको प्रावधान अनुसार काम गर्न नसकेको भन्दै जिल्ला बन कार्यालय रोल्पाले २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का गरेको हो ।

सामुदायिक बनको नेपाल बैंक लिमिटेडमा रहेको २ सय ५ सामुदायिक बनको खाता रोक्का भएपछि बन समुहले गर्ने बन विकास, गरिबीमूखी कार्यक्रम र सामुदायिक विकासका सबै गतिविधि अवरुद्ध भएका छन् ।

बन विकास मार्गदर्शन अनुसार सामुदायिक बन उपभोक्ता समुहले वार्षिक आम्दानीको कम्तिमा २५ प्रतिशत, गरिबीमूखी कार्यक्रममा ३५ प्रतिशत र बचेको रकम सामुदायिक बन विकासमा खर्च गर्नु पर्ने भएपनि त्यसो नभएकोले खाता रोक्का गर्नु परेको जिल्ला बन अधिकृत भिम कालिकोटेले बताए।

सामुदायिक बनको सुशासन कायम गर्न र बनका पदाधिकारीलाई जिम्मेवार बनाउन खाता रोक्का गरेको उनले बताए।

मार्गदर्शन अनुसार काम नगर्ने सामुदायिक बनलाई कानूनी दायरामा ल्याउने विभिन्न तरिका भएपनि खाता रोक्का गरिने कार्र्य राम्रो नभएको समुदायिक बन उपभोक्ता महाँसंघ रोल्पाका अध्यक्ष निमकुमारी सिंहले बताएकी छिन् ।

Share