राजेश हमालको पहलमा अमेरिकामा ओमविक्रम बिष्ट सहयोग साँझ संपन्न

राजेश हमालको पहलमा अमेरिकामा ओमविक्रम बिष्ट सहयोग साँझ संपन्न

काठमाडौ। नेपालमा विभिन्न इभेन्ट म्यानेजमेन्टको कार्यमा अब्बलता हासिल गर्दैआएको रिभेल इभेन्ट इन्कको कार्य विस्तार अमेरिकामा समेत भएको छ। अमेरिकाको बैभबशाली शहर न्यूयोर्कमा यो कंपनी गायक राजेश हमालले विधिवत रुपमा दर्ता गरेर कार्य समेत प्रारम्भ गरेका छन्।

त्यस क्रममा अमेरिकामा नै दुवै किडनी फेल भएर उपचार्थ रहेका नेपालका प्रसिद्ध गायक एवम् पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ सहयोग सांझ कार्यक्रम संपन्न भएको छ। गायक राजेश हमाल म्यानेजिङ डाइरेक्टर रहेको रिभेल इभेन्ट इन्क तथा त्यहाँ स्थित नेपाल अमेरिकन कलाकार संघ, गायक राम श्रेष्ठ, अभ्य ढुंगेल र स्वतन्त्र कलाकार सिर्जना स्याङडेनको संयुक्त आयोजनामा ओमविक्रम बिष्ट सहयोग सांझ भएको हो।

यस कार्यक्रममा अमेरिकामा रहेका एक से एक कलाकारहरुको सहभागिता रहेको थियो। उनीहरुले ओमविक्रम बिष्टका कालजयी अमर गीतहरु नै गाएर सवैलाई बेग्लै मनोरंजन दिने कार्य गरेका थिए। त्यसरी प्रतिभा प्रदर्शन गर्ने गायक–गायिकामा सपनाश्री, राम श्रेष्ठ, तिलकबम मल्ल, संगीता मुखिया, राजेन्द्र राई, सानु शेर्पा, गीता बिर्लाकोटी, रानी श्रेष्ठ, विश्व तेन्जिङ, बिमल डाँगी, गम्बु शेर्पा, सुवर्ण शाक्य, सुरेन्द्र बाँस्तोला, दीलिप शिरिष, यशोदा खालिङ राई, पूजा न्यौपाने, बसन्ती राई रहेका छन्।

साथमा बिट्स ब्याण्डवाट रोकेश गुरुङ, थिन्ले थकाली र रिन्जी शेर्पाले पनि रमाइलो प्रस्तुति दिएका थिए। उनीहरुका प्रस्तुतिलाई न्यूयोर्कका दर्शकहरुले अत्यन्त रुचाएका थिए। बाद्यबादनमा शिशिर श्रेष्ठ, तबलाबादक न्हूच्छेमान डंगोलले प्रस्तुति दिएका थिए। कार्यक्रमको संचालन विक्की पुलामी मगर र शकुन ज्ञवालीवाट भएको थियो।

सांगीतिक कार्यक्रमवाट लगभग ७ हजार १ सय ८९ अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ। उक्त रकम पप–सम्राट ओमविक्रम बिष्टलाई उपचार्थ हस्तान्तरण गर्ने कार्य आयोजकवाट भएको छ। जसवाट पप–सम्राट विष्टले आफूजस्तै विरामी पूर्ण गुरुङलाई १ हजार डलर सहयोग गरेका थिए।

नेपाल बाहिर प्रवास अमेरिकामा समेत आफ्नो रिभेल इभेन्ट म्यानेजमेन्ट इन्कले सवैको साथ र सहयोगले ओमविक्रम बिष्ट सहयोग सांझ कार्यक्रम भव्य रुपले गर्न सफल भएकोमा अत्यन्त गर्ब लागेको गायक राजेश हमालले भनेका छन्। यसप्रकारका कार्यक्रम नेपाल र अमेरिकामा नियमित रुपमा गर्दैजाने जानकारी पनि गायक हमालले बताएका छन्।

Share