देशलाई समृद्ध पार्न सबैको जाँगर चाहिन्छ : अनन्त

देशलाई समृद्ध पार्न सबैको जाँगर चाहिन्छ : अनन्त

मनिषा राई/रोल्पा । रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागरुक हुन आवश्यक रहेको बताए ।

प्रतिनिधि सभा सदस्य पुनुमगर अनन्तले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ रोडम्याप तयार गरेर योजना निर्माण र कार्यान्वयन गर्ने समेत बताए।

महोेत्सवका संयोजक इमान विष्टको अध्यक्षता पूर्व रहेको दोस्रो चतुर्भुज माण्डवी कृषि, पर्यटन तथा सास्ँकृतिक महोत्सव २०७४ को उद्घाटन गर्दै पुनमगरले शुक्रबार रोल्पाको खुग्री चुतुर्भुजमा यस्तो बताएको हो ।

उनले आफू अर्थमन्त्री हुँदाको कार्यकालमा युवा स्वरोजगार, सहकारी विकास, पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा सके जति पहल गरेको बताउँदै अबको सरकारले पनि युवाहरुलाई रोजगार बनाउनु पर्ने, सबैलाई श्रम गर्ने सँस्कारको निर्माण गर्नु पर्ने, श्रम गर्ने जनशक्तिलाई सम्मान गर्ने, व्यावसायीहरुलाई अनुदान दिनु पर्ने उल्लेख गरे ।

युवा नेता पुनमगरले सफल युवाहरुले आफू पनि रोजगार बन्दै अरुलाई पनि रोजगार प्रदान गरेपछि मात्रै बेरोजगार अन्त्य हुने धारण व्यक्त गरे । उनले स्वर्गद्वारी र जलजला लगायत रोल्पा र प्यूठान जिल्ला युद्ध पर्यटन, धार्मिक र साँस्कृतिक पर्यटनको सम्भावना राम्रो भएकोले सबैलाई आर्थिक उत्पादनतिर लाग्नका लागि आह्वान समेत गरे ।

नेकपा–माओवादी केन्द्र ५ नं. प्रदेश इन्चार्ज समेत रहेका नेता पुनमगरले हाल प्रदेशको अस्थायी राजधानीका विषयमा भइरहेको आन्दोलनका बारेमा सरकारले जनसंख्यालाई मात्रै आधार मानेको भन्दै भौगोलिक सुगमतालाई पनि ध्यान दिनु पर्ने बताउँदै आन्दोलनलाई सचेत र कुशल ढंगले अगाडि बढाउँदै प्रक्रियाबाट टुङ्ग्याउनु पर्ने बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापन परिवर्तनको लागि आन्दोलन पूरा भएको बताउँदै भनिन्, – “जस्तो भए पनि राजाकै सन्तान राजा हुनु पर्ने व्यवस्थाको विरुद्धमा आन्दोलन गरेका थियौँ सफल भयो अब जनताको छोराछोरीले पनि राजनीति गर्न सक्ने र सत्ताको नेतृत्व गर्न सक्ने व्यवस्था लिएका छौ । ”

निवर्तमान सभामुख घर्तीमगरले परिवर्तन र नयाँ संविधानको कार्यान्वयनको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब वाँकी संविधानको पनि कार्यान्वयन गर्नु पर्ने बताइन् ।

उनले सबै राजनीतिक दलहरुको सहमतिमा नेपालको सम्बृद्ध हुने र विकासका लागि सबै नागरिक एक हुनु पर्नेमा जोड दिएकी थिइन्। रोल्पा जिल्लाबाट निर्वाचित भएर रोल्पाको विकासका लागि लागेको र अझै पनि रोल्पाकै विकासमा लागिपर्ने दाबी गरिन् ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले देशको सम्बृद्ध गर्ने हो भने पहिले आफू, परिवार, गाउँ, जिल्ला सम्बृद्ध हुनुपर्ने बताए।

प्रदेश सभा सदस्य पुनमगर ‘सिजल’ ले राजा फाल्ने, पञ्चायत ढाल्ने आन्दोलन लगायत थुपै्र समय व्यवस्था परिवर्तनको आन्दोलनमा लागेको बताउँदै अब आफू र देश सम्बृद्ध बनाउने यात्रामा लाग्नु पर्ने बताएका थिए ।

पुनमगर ‘सिजल’ ले उत्पादन, व्यापार, व्यवसायी लगायत साँस्कृतिक, पर्यटन एवं साँस्कृतिक महोत्सवबाट जिल्लाको विकास एवं नागरिकलाई स्वरोजगार बनाउनु पर्ने समेत उल्लेख गरेका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले जनताको सम्बृद्धका लागि महोत्सव कोशेढुङ्गा सावित हुने र यसको विकास र विस्तार गर्नका लागि सम्पूर्ण सञ्चार क्षेत्र लाग्नुपर्ने बताउँदै सम्पूर्ण सञ्चार माध्यमले सहयोग गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, सुवर्णावती गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, स्वर्गद्वारी नगरपालिका उपप्रमुख गोमा रेग्मी, सुवर्णावती गाउँपालिका उपाध्यक्ष बागमति थापा क्षेत्री, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी लगायले सुभकामना मन्तव्य राखेका थिए ।

सुवर्णाती गाउँपालिका विभिन्न वडाका अध्यक्षहरु, स्वर्गद्वारा नगरपालिका अध्यक्ष विभिन्न सामाजिक रुपमा काम गर्ने सरोकारवाला व्यक्ति, पत्रकारको समेत आतिथ्यता रहेको थियो।

सत्यवती कला केन्द्रका नृत्य निर्देशक उदिराम खड्का, राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक र कलाकार रुपा घर्तीमगरले गरेका थिए ।

महोत्सवको रोल्पा जिल्लाका रेडियो माडी आवाज, रेडियो मालाश्रीले प्रत्यक्ष प्रशारण गरेका थिए भने कलाकारहरुले विभिन्न स्थानीय तथा अन्य साँस्कृतिक झाँकी समेतको कार्यक्रम प्रस्तुत गरेका थिए।

महोत्सवमा करिव १५० वटा स्टल राखिएको छ भने व्यापारिक एवं अन्य स्टलहरु राखिएको छ । महोत्सव ७ दिनसम्म चल्ने आयोजक समितिले बताएको छ।

Share