चारपाङ्ग्रे सवारी साधन प्रवेशमा आजबाट रोक

चारपाङ्ग्रे सवारी साधन प्रवेशमा आजबाट रोक

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ।

महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको महानगरका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन यस्तो निर्णय गरिएको शर्माले बताए।

जबर्जस्ती कसैले निषेध गरिएका स्थानमा सवारी साधन चलाएमा ५ सयदेखि एक हजारसम्म जरिवाना र अन्य कारबाही पनि हुन सक्ने महानगरपालिकाले जनाएको छ।

Share