त्रिवेणीधाममा माघे सङ्क्रान्ति मेला आजबाट शुरु

त्रिवेणीधाममा माघे सङ्क्रान्ति मेला आजबाट शुरु

सन्तोष कार्की, उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको दुधौली बीचमा पर्ने कमला नदीको त्रिवेणीधाममा आज बिहानैदेखि १५ दिने माघे सङ्क्रान्ति मेला शुरु भएको छ।

आज बिहानैदेखि विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनहरुले त्रिवेणीधाममा मकर नुहाएका छन् भने अन्य धेरै भक्तजनहरु आउनेक्रम जारी रहेको त्रिवेणी मेला व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ धमलाले बताए ।

त्रिवेणीधाममा दर्शन गर्न आउने भक्तजनको भिड बढ्दै गएपनि यस पटक धार्मिक मेला भने उदयपुरको कटारीस्थित कमलामाईको त्रिवेणीमा र यता सिन्धुलीको दुधौली नगरपालिकाको कुमराह खोलामा समेत गरेर दुई स्थानमा त्रिवेणी मेला सञ्चालन भएको छ ।

कमलामाईस्थित त्रिवेणीधामको दर्शन र कमलेश्वर महादेवको दर्शन तथा महालक्ष्मीको समेत दर्शन र पूजा आराधना पनि शुरु भएको ठेकेदार नरबहादुर तामाङले जानकारी दिए । मेला व्यवस्थापनमा विभिन्न होटल तथा चर्पीको निर्माण सहित सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।

१५ दिन भित्र झण्डै पाँच लाख भन्दा बढी भक्तजन मेला भर्न आउने सो समितिको अनुमान छ । प्रत्येक वर्ष त्रिवेणी मेलामा सहभागी हुन तथा कमलामाईको दर्शन गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, सुनसरी, मोरङ, रामेछापबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्।

यस्तै राजधानी काठमाडौ, बनेपा लगायत नेपालको पूर्वी पहाडी क्षेत्र हुँदै भारतका पश्चिम बंगालका दार्जिलिङ, सिक्किम र विहार प्रदेशबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधामको दर्शन गर्न आउने गरेको मेला व्यवस्थापनका पदाधिकारी सन्तोष कार्कीले बताए ।

भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मेलाको अवधिभरि सामान्य प्राथमिक उपचारको व्यवस्था, एम्बुलेन्स सेवा र सुरक्षा व्यवस्थाको समेत प्रवन्ध मिलाइएको छ।

मेलामा स्थानीय घरेलु सामाग्रीको बिक्री तथा प्रदर्शनी, ओखलढुंगा र सोलुखुम्बुको राडी पाखी र सोलुको भोटे घोडाको प्रदर्शन तथा किनबेच मूख्य आकर्षणको केन्द्र नै बनेको छ।

Share