भाईरल ज्वरोको प्रकोप नियन्त्रणभन्दा वाहिर, औषधीसहित थप स्वास्थ्यकर्मी टोली खटाइयो

भाईरल ज्वरोको प्रकोप नियन्त्रणभन्दा वाहिर, औषधीसहित थप स्वास्थ्यकर्मी टोली खटाइयो

काठमाडौ । जाजरकोटमा भाईरल ज्वरोको प्रकोप नियन्त्रणमा नआएपछि ८ क्विन्टल औषधी सहित काठमाण्डौंबाट थप स्वास्थ्यकर्मीको टोली पठाईएको छ।

पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेत र स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले पनि आज भाईरल ज्वरो प्रभावित क्षेत्रको भ्रमण गरेको छ।

बस्नेत र चौधरी सहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट आज जाजरकोटको भाईरल ज्वरो प्रभावित क्षेत्रमा गएको हो । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएको भाइरल नियन्त्रणमा आउन सकेको छैन ।

भाइरलका कारण अहिलेसम्म १३ जनाको ज्यान गइसकेको छ भने थुप्रैलाई संक्रमण भइसकेका छन् । प्रकोप नियन्त्रण नआएपछि जिल्लाका सांसद् र चकित्सक सहितको टोली जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका हुन् ।

त्यस्तैगरी हुम्लाका केही ठाँउमा फैलिएको भाईरल ज्वरो विस्तारै नियन्त्रणमा आउन थालेको छ । बढी प्रभावित ताँजाकोट गाँउपालिका—३ का वडा अध्यक्ष बागदल मल्लको संयोजकत्वमा उपचार टोली खटिएको छ ।

थप भत्ता दिने गरेर तीन क्विन्टल औषधी सहित स्वास्थ्यकर्मीलाई घरघरमा उपचारका लागि खटाईएको वडा अध्यक्ष मल्लले जानकारी दिए।

हुम्लाको सर्केईगाड गाँउपालिकामा फैलिएको भाईरल सामान्य बन्दै गएपछि डाक्टर नविन रोकायको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोली फर्केको छ।

हुम्ला सदरमुकाम सिमिकोट गाँउपालिकाको २,३,४,७,८ बडामा तथा खार्पुङनाथ गाँउपालिका १,२,३ मा भाईरल ज्वरोको समस्या देखिएको छ।

Share