विश्व इन्टरनेट सञ्जालमा नेपाल जोडियो

विश्व इन्टरनेट सञ्जालमा नेपाल जोडियो

काठमाडौ । आजबाट औपचारिक रुपमा चीनमार्फत विश्व इन्टरनेट सञ्जालमा नेपाल जोडिएको छ । क्रसबोर्डर अप्टिकल फाइबर लिंकमार्फत आजदेखि व्यवसायीक रुपमा नेपाल चीनको बाटो हुँदै विश्व इन्टरनेट सञ्जालमा जोडिएको हो ।

काठमाडौंमा आज भएको एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदुत यू होङले संयुक्त रुपमा फाईबर लिंकको सुभारम्भ गरेको छ।

दुईवर्ष अघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेडबीच चीन र नेपाललाई स्थलगत केबुलमार्गमा जोड्ने सम्झौता भएको थियो। तर, भूकम्प लगायतका विभिन्न समस्याका कारण निर्माण कार्यमा केहि ढिलाई भएको थियो ।

केही समयको सफल परीक्षणपछि आजदेखि व्यवसायीक रुपमै चीनले रसुवाको जिलोङ गेटवे हुँदै नेपाललाई अप्टिकल फाइबर मार्फत ईन्टरनेटको विश्व सञ्जालमा जोडेको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल हालसम्म दूरसंचारको अन्तर्राष्ट्रिय आबद्धताका लागि भारतको मात्र भर पर्दै आएको थियो । हङकङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुन्द्र मुनिबाट बिछ्याइएको हुँदा समस्या देखिन सक्ने भएकाले स्थलमार्गबाट ल्याइएको चीनको अप्टिकल फाइबर बलियो बिकल्प हुने नेपाल टेलिकमको विश्वास छ।

चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुल मार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्ये एसिया, उत्तर पूर्वी एसिया र अमेरिकासम्म जोड्ने जानकारी दिए।

Share