भू–उपग्रह सहितको ६ देशका रकेट अन्तरिक्षमा प्रक्षेपण

भू–उपग्रह सहितको ६ देशका रकेट अन्तरिक्षमा प्रक्षेपण

भारतले अन्य ६ देशका भू–उपग्रह सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ईसरोले आज आन्ध्र प्रदेशको श्रीहरिकोटबाट ३१ वटा भू–उपग्रह सहितको पीएसएलबी–सी–४० नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि गएको बर्षको अगष्टमा भारतले प्रक्षेपण गरेको पिएसएलवी–सी–३९ नामक रकेटको प्रक्षेपण असफल भएपछि त्यसैलाई मर्मत गरेर आज अन्तरिक्षमा पठाईएको हो।

प्रक्षेपण गरिएको रकेटमा भारत सहित अमेरिका, बेलायत, फिनल्याण्ड, दक्षिण कोरियाका भू–उपग्रह छन् । ती भू–उपग्रहले पृथ्वीको नक्शांकन र चित्रांकन गर्नेछन्।

रकेटमा प्रक्षेपण गरिएको भारतको कार्टोसेट–२ भू–उपग्रहले पृथ्वीको तस्वीर खिच्नुका साथै भारतका पूर्वी र पश्चिमी सिमाको क्षेत्र अवलोकन गरि सुरक्षा सतर्कता अपनाउन सघाउनेछ।

आन्तरिक सुरक्षार्थ अन्तरिक्षमा अहिले पनि भारतका कैयौं उपग्रह छन् । तीनै भू–उपग्रहका तस्वीरका आधारमा भारतले पाकिस्तानतर्फको लाईन अफ कन्ट्रोलमा बिद्रोही बिरुद्ध सर्जिकल स्ट्राईक समेत गरेको थियो ।

प्रक्षेपण गरिएका ३१ मध्ये सबभन्दा ठूलो कार्टोसेट–२ उपग्रह एउटा ठूलो क्यामरा जस्तै भएको भारतीय बैज्ञानिकहरुको भनाई छ ।

– एजेन्सी । 

Share