खुराफातीमा पिएचडी गरेकाहरुको बुद्धिले यो हिउँदमा घाम ताप्छ

खुराफातीमा पिएचडी गरेकाहरुको बुद्धिले यो हिउँदमा घाम ताप्छ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ दिनमै एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएको छ।  उपचारका लागि बैंकक जाने क्रममा त्रिभूवन विमानस्थलमा पत्रकारसँग ओलीले दुई हप्ता भित्र एकता हुने बताएको हो ।

गठबन्धन टुटाउन धेरैतिरबाट षड्यन्त्र भइरहेको र त्यसलाई सफल हुन नदिने ओलीले बताए । प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने–‘१५ दिनमा नै पार्टी एकता हुँदैछ । को हुन्छ भन्ने त्यसबेला नै थाहा पाउनु हुनेछ ।’ पार्टी एकीकरणको काम तीव्र रुपमा अघि बढेको र गठबन्धन टुटाउन भैरहेका प्रयास असफल हुने बताउँदै ओलीले भने –‘खुराफातीमा पिएचडी गरेका मान्छेहरुका बुद्धिले यो हिउँदमा घाम ताप्छ ।’ ओलीले तत्कालै प्रदेश प्रमुख र प्रदेशको मुकाम तोक्न सरकारलाई आग्रह गरे ।

ओलीले निर्वाचन आयोग समेत ब्ल्याकमेलिङको सिकार भएको टिप्पणी गरे । ओलीले बैंककमा उपचार गरानेछ । मिर्गौला प्रत्यारोपणपछि ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेको छ ।

Share