कार्यदललाई आवश्यक निर्देशन

कार्यदललाई आवश्यक निर्देशन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीले गठन गरेको कार्यदललाई आवश्यक निर्देशन दिएका छन्।

ओली निवास बालकोटमा बिहान बसेको कार्यदलको बैठकमा कार्यदललाई अध्यक्षद्वयले कार्यदलको कार्यविधि र कार्यादेशका बारेमा दिशानिर्देश गरेको ओलीको सचिवालयले जनाएको छ।

दुई पार्टीको एकता संयोजन समितिको हिजो बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न कार्य दल गठन गरेको थियो।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।

दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, तथा सन्तुलनलाई आधार बनाइने कार्यदलका सदस्य वर्षामान पुन अनन्तले जानकारी दिए।

कार्यदलले भोलिदेखि नै काम शुरु गरेर जति सक्यो छिटो प्रतिवेदन पेश गर्ने कार्यदलका सदस्य पुनले बताए ।

Share