सधै पर्यटकको बाक्लो चहलपलह हुने खुम्बु क्षेत्र सुनसान

सधै पर्यटकको बाक्लो चहलपलह हुने खुम्बु क्षेत्र सुनसान

भोजराज कार्की/सोलुखुम्बु । पर्यटन सिजन सकिएसंगै सोलुखुम्बुको खुम्बु क्षेत्र सुनसानमा परिणत भएको छ । खुम्बु क्षेत्रमा अत्याधिक चिसो बढ्नुका साथै पर्यटन सिजन समेत सकिएपछि जाडो छल्नका लागि काठमाडौ लगाएत अन्य विभिन्न क्षेत्रमा जान थालेका छन्।

अक्टोबर महिनाको अन्तिमसम्म पनि पर्यटकको राम्रै चहलपहल हुने खुम्बु क्षेत्रको होटल लज, क्याम्पिङ साईट, बाटो तथा दृश्यावलोकन गर्ने स्थान समेत सुनसान बनेको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए ।

बाह्य पर्यटकलाई सेवा दिन तल्लिन होटल व्यवसायी यतीबेला काठमाडौ लगाएत भारततर्फ धमाधम गईरहेका छन् । आफ्नो व्यवसाय बन्द गरेर खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक एवम् थामे लगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेको स्थानीय बिजयी मोक्तानले बताए।

उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्येसम्म हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जानु खुम्बुबासीको बाध्यता नै रहेको स्थानीय नाम्गेल शेर्पाले बताए ।

“सामान्य हिउँ पर्न शुरु भईसक्यो, पर्यटक आवागमन पनि कम, चिसो अत्याधिक बढ्यो ।” शेर्पाले भने “काम पनि छैन, बरु बाहिर गयो भने चिसो पनि छलिने भ्रमणसंगै समयको सदुपयोग पनि हुन्छ ।”

जाडो छल्नका लागि धेरैजसो स्थानीयहरु काठमाडौ जान्छन् । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौसम्म हवाईसेवा सञ्चालन भएकाले यस भेगका अधिकांश स्थानीय बासिन्दाको पहिलो गन्तव्य काठमाडौँ भएको छ ।

यस याममा खुम्बु क्षेत्रका मानिस तीर्थधाम समेत जाने गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए ।  सगरमाथाको प्रवेशद्धार भनेर चिनिने नाम्चे, गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल सुन्य जस्तै छ।

सिजनमा हजारौ बिदेशी पर्यटकले खचाखच भरिने खुम्बु क्षेत्रमा करिब ६ महिना मात्र मानिसहरु बस्ने गर्छन । अहिले केहि कामदारले घरको रेखदेख गर्ने गर्छन्।

चिसो बढेसंगै विद्यालय पनि बन्द 

खुम्बु क्षेत्रको सम्पूर्ण विद्यालय समेत बन्द भईसकेका छन् । गाउँपालिका १ खरिखोलाका केहि विद्यालय बाहेक सबै विद्यालयले जाडो बिदा दिईसकेका छन्।

पुस ११ गतेदेखि त्यस भेगका अधिकांस विद्यालय बन्द भएको छ भने माघ २७ देखि खुल्ने पनि शिक्षिका पेमा याङ्जी शेर्पाले बताइन् । शेर्पाका अनुसार तर एसइइ का विद्यार्थीका लागि भने कोचिङ कक्षा सञ्चालन भईरहेको छ ।

खुम्बु पर्यटकीय क्षेत्र हुनका साथै यहाँको शैक्षिक गुणस्तर समेत राम्रो मानिने भएकाले तल्लो क्षेत्रका बालबालिका समेत अध्ययनका लागि जाने गर्छन।

कतिपय विदेशी सहयोग त कतिले स्वलगानीमा खुम्बुका विभिन्न विद्यालयमा बालबालिका पढाउने गरेको खुम्जुङ माविका शिक्षिका पेमा याङ्जी शेर्पाले जानकारी दिए।

खुम्बुको सम्पूर्ण सामुदायिक विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन हुने गर्दछ ।

Share