माईनस ४.३ डिग्रीमा झर्यो सोलुखुम्बुको तापक्रमा

माईनस ४.३ डिग्रीमा झर्यो सोलुखुम्बुको तापक्रमा

भोजराज कार्की/सोलुखुम्बु । चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित बनेको छ । केहि दिन यता दिन प्रतिदिन चिसो बढ्दै गएपछि जनजीवन प्रभावित बनेको हो। सदरमुकाम सल्लेरीको तापक्रम माईनस ४.३ डिग्री सेल्सियसमा झरेको सल्लेरी स्थित मौसम अवलोकन केन्द्रले जनाएको छ ।  

शनिबार आज बिहान ८ः४५ मापन गर्दा सदरमुकामको न्यूनतम तापक्रम माईनस ४.३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग अन्तरगत सोलुखुम्बुकी मौसम अवलोकन कर्ता राधा बस्नेतले जानकारी दिइन् ।  

यस्तै शुक्रबार बिहानको तापक्रम माईन २.६ डिग्री सेल्सियस रहेको बस्नेतले जानकारी दिएको थियो । माथिल्लो क्षेत्रमा सामान्य हिमपात भएको छ भने अन्य क्षेत्रमा तुसारो जमेको छ। 

बिहानी पख धारामा आउने पानी समेत जम्न थालेपछि थप यहाँको जनजीवन प्रभावित बनेको हो । बिहान घाम नलागेसम्म मनिसको चहलपहल कम देखिन्छ भने आगो ताप्ने, हिटर बाल्नेक्रम बढेको छ। प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीहरु कार्यकक्षमा हिटरको बिनाप्रयोग काम गर्न गाह्रो हुने बताउछन् । 

चिसोका कारण बालबालिका, बृद्धबृद्धा, सुत्केरी महिला बढी प्रभावित बनेका छन् । चिसो बढेसंगै मौसमी बिरामी समेत बढेको सोलु अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतले जानकारी दिए। 

डा. बस्नेतले चिसोबाट बच्न सबैलाई आग्रह समेत गरेको छ । तातो, झोलिलो खानेकुरा बढी खानु, उमालेको तातोपानी मात्र प्रयोग गर्न, स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकको सुझाव छ ।

Share