देशैभरका ग्यास उद्योगहरुको अनुगमन सुरु

देशैभरका ग्यास उद्योगहरुको अनुगमन सुरु

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले आजदेखि ग्यास उद्योगहरुको अनुगमन सुरु गरेको छ । ग्यास उद्योग मापदण्ड अनुसारको भए/नभएको अनुगमन गर्न बिहानैदेखि टोली खटिईएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

विभागका महानिर्देशक पुडासैनीका अनुुसार काठमाण्डौँ उपत्यका सहित देशैभरका उद्योगहरुको अनुगमन गर्न लागिएको हो ।  अनुगमनका क्रममा गुणस्तर चिन्ह (एनएस) नलिएको पाईएमा ग्यास उद्योग सञ्चालनमा रोक लगाईने विभागका महानिर्देशक पुडासैनीले बताए ।

वीरगंजमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभागले गुणस्तर चिन्ह नलिएका उद्योगलाई सञ्चालनमा रोक लगाउन लागेको हो। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन् ।

ग्यास जस्तो संवदेनशील उद्योगमा समेत उद्योगीले हेलचेक्र्याईँ गरेको भन्दै विभागले आजैदेखि जोखिमयुक्त ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रक्रिया अघि बढाउन लागेको हो।

विभागका अनुसार नेपालका ९५ प्रतिशत ग्यास सम्बन्धी बोटलिङ प्लान्ट असुरक्षित छन् । उद्योग स्थापना भएका स्थानका जिल्ला प्रशासन कार्यालय मार्फत मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही प्रकृया अघि बढाइने पुडासैनीले बताए ।

सार्वजनिक सूचना निकालेर बारम्बार ताकेता गर्दा पनि गुणस्तर चिन्ह लिन नआएपछि विभागले कारबाहि प्रक्रिया अघि बढाउन लागेको हो।

गुणस्तर चिन्ह नलिएका, मापदण्ड पूरा नगरेका उद्योगको सञ्चालनमा विभागले रोक लगाउन सक्ने कानुनी व्यवस्था छ । नेपालमा अहिले ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन्।

Share