सर्वदलीय बैठकमा वामगठबन्धनको आग्रह

सर्वदलीय बैठकमा वामगठबन्धनको आग्रह

काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशको राजधानी र प्रदेश प्रमुख तोकेर छिटो नयाँ सरकार बनाउने बाटो खोलिदिन स्ुझाव दिएका छन्।

पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रका नेताले यसमा आफ्नो चासो नरहेको भन्दै राजधानी र प्रदेश प्रमुख छिटो तोकेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा वाम गठबन्धनमा आबद्ध एमाले र माओवादीका शीर्ष नेताले नयाँ सरकार गठनमा रहेका सबैखाले अड्चन तत्काल हटाउन आग्रह गरेका हुन् ।

नयाँ सरकार गठनमा रहेका अड्चन फुकाउन तत्काल कदम चाल्न आग्रह गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख, प्रदेशको राजधानी र राष्ट्रियसभा चुनावको मिति तोक्ने विषयमा सुझाव मागेकोमा एमाले र माओवादीले चासो नरहेको भन्दै छिटो निर्णय गर्न सुझाव दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले सुझाव मागे पनि कुनै राय प्राप्त नभएको जानकारी दिए । मधेसवादी दलहरुले भने परिपक्व व्यक्तिलाई प्रदेश प्रमुख तोक्न सुझाव दिएका छन् ।

यस्तै राजधानी अस्थायी तोकिने भएकाले जहाँ तोक्दा पनि खासै फरक नपर्ने भएकाले सकेसम्म सार्न नपर्ने गरी तोक्न सुझाव दिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।

Share