राजधानी तोक्ने कुनै निर्णय नभएको सरकारद्वारा स्पष्ट

राजधानी तोक्ने कुनै निर्णय नभएको सरकारद्वारा स्पष्ट

काठमाडौ । सरकारले प्रदेशको राजधानी तोक्ने बारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेशको अस्थायी राजधानी तोकि सकिएको भनेर प्रचार गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बिज्ञप्ति निकालेर राजधानी तोक्ने बारे कुनै निर्णय नभएको स्पष्ट पारेको हो।

प्रदेशको अस्थायी राजधानी तोकिएको प्रचार भएपछि कतिपय जिल्लामा आन्दोलन समेत सुरु हुन थालेपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरि पन्थीले आज बिज्ञप्ती जारी गर्दै अस्थायी राजधानी बारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।

यसअघि हिजो प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेल संयोजकत्वको समितिले सातै वटा प्रदेशको अस्थायी राजधानी बारे प्रतिवेदन बुझाएको थियो।

लगत्तै केहि जिल्लामा बिरोध प्रदर्शनदेखि हड्तालसम्म आह्वान गरिएपछि सरकार पछि हटेको हो । यसैबिच समितिको प्रतिवेदनका आधारमा नभई थप छलफलपछि अस्थायी राजधानी तोकिने सरकारले जनाएको छ ।

सरकारले अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक बोलाएको छ । विस्तृत छलफलपछि मात्र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ।

Share