विना विभागीय मन्त्रीहरु अब सक्रिय हुने

विना विभागीय मन्त्रीहरु अब सक्रिय हुने

काठमाडौ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु फेरि सक्रिय हुने भएका छन् । विना विभागीय बनाइएपछि मन्त्रालय र मन्त्रीपरिषद बैठकमा जान छोडेका मन्त्रीहरु अबदेखि मन्त्रालय र मन्त्रीपरिषद बैठकमा जाने भएका हुन् ।

सरकार अझै केही समय लम्बिने र सरकारले मनलाग्दी निर्णय गर्न थालेपछि त्यसलाई रोक्नका लागि मन्त्रीपरिषद बैठकमा जाने निर्णय भएको माओवादी केन्द्रीय कार्यालयका सदस्य मणी थापाले जानकारी दिए ।

थापाले नैतिकताका आधारमा सरकारबाट बाहिरिनु पर्ने आवाज पनि पार्टीभित्र बुलन्द रहेको बताए । तर सरकारको बेथिती नियन्त्रणका लागि दबाब दिन सक्रियता बढाउन लागिएको उनको भनाई छ । एमालेसँगको सहमतिमै आफूहरु अहिले सरकारबाट नबाहिरिएको थापाले बताए।

एमालेसँगको पार्टी एकताको विकल्प नरहेको भन्दै थापाले केही दिन भित्रै पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताको खाका तयार पारिने बताए। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति बाँडफाँडमै कुरा अड्किएको उनको भनाई छ।

माओवादी केन्द्र ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले पार्टी अध्यक्ष पाउनु पर्ने अडानमा छ । नेता थापाले पद बाँडफाँड मिलाउन सजिलो हुने भएकाले पनि सरकार गठन अघि नै पार्टी एकता घोषणा हुने बताए ।

Share