सूची सच्याउन दलहरु आन्तरिक छलफलमा व्यस्त

सूची सच्याउन दलहरु आन्तरिक छलफलमा व्यस्त

काठमाडौ । प्रदेशसभाको समानुपातिकतर्फ सूची बिगारेर नामावली बुझाएका दलहरुले आज सूची सच्याउन आन्तरिक छलफल गर्ने भएका छन्।

प्रदेशसभामा सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनौट नमिलेको भन्दै निर्वाचन आयोगले हिजो सूची सच्याएर पठाउन पत्राचार गरेको थियो। आयोगले ३ दिन भित्र नाम सच्याएर बुझाउन भनेकाले दलहरु आजैदेखि आन्तरिक छलफलमा जुट्न लागेका हुन् ।

नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेदवार छनौट नमिलेको भन्दै आयोगले हिजो पत्राचार गरेको हो ।

दलहरुले क्लस्टर नमिलाएको र बन्दसूचीको क्रमसंख्या मिचेर उम्मेदवार छनौट गरेको भन्दै आयोगले फेरि सच्याएर पठाउन निर्देशन दिएको हो।

नेपाली काँग्रेसले आज पत्र प्राप्त भएपछि बिग्रिएको स्थानमा सच्याएर नाम पठाइने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राजपा नेपालले नाम सच्याएर पठाउने बारे आजैदेखि अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा छलफल हुने महासचिव मनिष सुमनले जानकारी दिए।

राप्रपाले भोलिदेखि केन्द्रीय समितिको बैठक शुरु हुने भएकाले आजै नामावली सच्याएर पठाउने प्रवक्ता भुवन पाठकले बताए ।

Share