स्वस्थानी व्रतकथा शुरु

स्वस्थानी व्रतकथा शुरु

काठमाडौ । हिन्दुधर्मालम्बीले मनाउने श्री स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने एक महिने व्रत आजदेखि शुरु भएको हो ।

आज बिहानै स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात भएको छ । यो अवधिमा एक महिनासम्म श्री स्वस्थानीको व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन आदि चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

यसैबिच काठमाडौंको साँखुमा रहेको शालिनदीमा एक महिने मेला हुदैछ । भोलिदेखि शुरु हुने मेलाका लागि व्रतालुहरु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्छन्।

सालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा हरेक वर्ष लाखौँ भक्तजन साँखु पुग्ने गरेका छन्।

Share