मनिषा खतिवडा हिरो रेञ्जर स्काउट घोषित

मनिषा खतिवडा हिरो रेञ्जर स्काउट घोषित

काठमाडौ । डाइनामिक स्काउट क्र्यूको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल प्रमुख आतिथ्य र जिल्ला स्काउटका काठमाडौँका जिल्ला आयुक्त रविन दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्र्यूको स्मारिका समेत लोकार्पण गरिएको थियो।

त्यसैगरि यस वर्षको डाइनामिक हिरो रेञ्जर स्काउट मनिषा खतिवडा घोषित भएकी छिन् । उनलाई हिरो अवार्ड सहित नगद पुरस्कारले सम्मान गरिएको हो।

डिल्लीबजार स्थित विजय स्मारक उच्चमाध्यमिक विद्यालयको सभाहलमा आयोजित सो समारोहमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुको नेतृत्व विकाशमा स्काउटले खेलेको भूमिकाप्रति प्रशंसा समेत व्यक्त गरेका थिए ।

त्यसैगरि काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहालले डाइनामिक स्काउट क्र्यूले नेपाल स्काउट कै इतिहासमा पहिलो पटक यसरी हिरो अवार्ड घोषणा गरेर नयाँ आयाम थपेको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा बरिष्ठ स्काउट लिडर हरिमोहन ज्योतिले क्र्यूले २००९ सालमा पहिलो पटक स्काउट लिडर तालिम लिने मध्येका राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्मानमा समर्पित गर्दै स्मारिका प्रकाशित गरेकोमा आफू अत्यन्त प्रशन्न भएको र नेपाल स्काउट केन्द्रबाटै हुनु पर्ने कार्य डाइनामिक क्र्यूले गरेकोमा बधाई समेत व्यक्त गरे ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का उपाध्यक्ष राधेश्याम लेकालीले आफू सानो छँदा स्काउट भएको स्मरण गर्दै कार्यक्रममा उपस्थित हुँदा आफू अझै स्काउट नै हुँ भन्ने अनुभूति भएको धारणा समेत राखेका थिए ।

नेपाल स्काउटका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको सममारोहस्थलमा स्काउट लिडर राम प्रसाद भट्टराईले स्मारिकाको समिक्षा गरेका थिए।

क्र्यूका अध्यक्ष श्रीवत्स वस्न्यातको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रोभर लिडर सन्तोष कुमार थापाले स्वागत मन्तव्य राखे थिए भने अर्का रोभर लिडर राजिव खत्रीले कार्यक्रम संचालन गरेका थिए ।

Share