नयाँ सरकार गठन हुन कम्तीमा डेढ महिना लाग्ने

नयाँ सरकार गठन हुन कम्तीमा डेढ महिना लाग्ने

काठमाडौ । राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश आएपनि नयाँ सरकार गठन हुन कम्तीमा डेढ महिना भन्दा बढी समय लाग्ने देखिएको छ।

राष्ट्रिय सभा चुनाव अघि कि सरकार गठन भन्नेमा दलहरुबीच सहमति हुन नसक्दा झन् अन्यौल बढेको छ । एमाले र माओवादीले अब सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने तर्क गरिरहेका छन् भने काँग्रेसले राष्ट्रिय सभा चुनाव अघि सरकार गठन प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै आएको छ।

निर्वाचन आयोगले पनि राष्ट्रिय सभा गठन अघि समानुपातिकतर्फ प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक नगर्ने संकेत दिएकाले माघ अन्तिम यता नयाँ सरकार नबन्ने देखिएको हो ।

संविधान अनुसार प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा नभई सरकार गठन प्रक्रिया अघि नबढ्ने हुँदा एमाले र माओवादीले तत्काल समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न माग गरिरहेका छन् । तर प्रदेश सभातर्फ सिट बाँडफाँड गरेको १० दिन बितिसक्दा पनि आयोग प्रतिनिधिसभाको नतिजा सार्वजनिक गर्ने विषयमा मौन रहेको छ ।

‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने भएकाले राष्ट्रिय सभाको गठनअघि नतिजा सार्वजनिक गर्न संवैधानिक जटिलता छ’, आयोगका एक अधिकारीले भने । आयोगले राष्ट्रिय सभाको चुनावी प्रक्रिया त अघि बढाएको छ तर सरकारले चुनावको मिति तोकिसकेको छैन।

दल दर्ताका मात्रै १५ दिनको समय दिएको र थप प्रक्रिया पूरा गरी राष्ट्रिय सभाको चुनाव सम्पन्न हुनका लागि कम्तीमा एक महिना लाग्ने आयोगका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए ।

Share