‘तमु ल्होसार’ पर्व भब्यतापूर्ण रुपमा मनाउँदै

‘तमु ल्होसार’ पर्व भब्यतापूर्ण रुपमा मनाउँदै

काठमाडौ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

आजदेखि च्या अर्थात चरा वर्गलाई विधाई गरी खि अर्थात कुकुर वर्षलाई स्वागत गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु वा नयाँ हो।

हरेक वर्ष पुष १५ गते नयाँ वर्ष अर्थात ल्होसारका रुपमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाइन्छ । गुरुङ बाहुल्य लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा ल्होसारको रौनक छ ।

टुँडिखेलमा विशेष कार्यक्रम गरिने ल्होसार मुल समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।बसन्तपुरबाट सांस्कृतिक झाँकी सहितको ¥याली निकाल्ने तयारी गरिएको मुल समारोह संयोजक श्रीप्रसाद गुरुङले जानकारी दिए।

ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो पर्व परेको छ । यसैबिच ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा र राजनैतिक दलका नेताले शुभकामना ब्यक्त गरेका छन्।

Share