नमूना संयुक्त राष्ट्र संघ सभाको आयोजना हुने

नमूना संयुक्त राष्ट्र संघ सभाको आयोजना हुने

काठमाडौ । काठमाडौं–भोलिको नेतृत्व तयार गर्ने उद्देश्यले काठमाडौंमा नमूना संयुक्त राष्ट्र संघ सभा हुने भएको छ । सभामा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकका १३ देखि २० बर्षसम्मका ४ सय जनाको सहभागिता जनाउने छ ।

दीगो विकास लक्ष नमूना संयुक्त राष्ट्र संघ नाम दिइएको सभामा बंगलादेश, भारत र संयुक्त अधिराज्य लगायत विभिन्न मुलुकका २० भन्दा बढी प्रशिक्षकले सहजिकरण गर्ने छन्।

बुढानिलकन्ठ–१० स्थित रिलायन्स पब्लिक स्कुलको आतिथ्यमा हुने सभामा विभिन्न विद्यालय र कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी दिइने छ ।

संयुक्त राष्ट्र संघमा विभिन्न देशबाट प्रतिनिधित्व गरेर सहभागी हुने प्रतिनिधीहरुले अन्तरदेशीय समस्याहरु कसरी उठान गर्छन् भन्ने विषयमा सिकाइने आयोजक रिलायन्स इजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले बताए ।

‘संयुक्त राष्ट्र संघको महासभामा उठाइने समस्या र समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरुको हल कसरी गर्दछन् भन्ने जानकारी मोडल संयुक्त राष्ट्रसंघ सभामा सिकाइने छ,’ थापाले भने, यस कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्न मद्दत गर्नेछ।

अन्तरदेशीय संस्कृतिको जानकारीको साथै मैत्रीपूर्ण वातावरणमा विश्व समस्याको पहिचान र समधानको बारेमा कलात्मक ढंगले खोजी गर्न सिकाउने उनले बताए।

सभा विहीबारदेखि शुरु भई तीन दिनसम्म युवा विद्यार्थीले छलफल गरेर काठमाडौं घोषणापत्र जारी गर्ने छन् ।

Share