अध्यक्ष को हुने भन्ने विवाद, आजै भेटवार्ता

अध्यक्ष को हुने भन्ने विवाद, आजै भेटवार्ता

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ताको तयारी भएको छ।

राष्ट्रपतिकहाँ रोकिएको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशमा काँग्रेससँग सहमति गर्नका लागि समान धारणा बनाउने विषयमा दुई नेताबीच छलफल हुन लागेको हो।

यसअघि हिजै हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको थियो । आज समय तय नभएपनि भेटवार्ताको संभावना रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

अध्यादेशमा उल्लेख गरिएको एकल संक्रमणीय मत प्रणाली बारे माओवादी सकारात्मक देखिएपनि एमाले भने बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नु पर्ने अडानमा छ । एमाले बाहेक सबै राष्ट्रिय पार्टी काँग्रेस नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशका पक्षमा देखिएका छन्।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि राष्ट्रपतिलाई भेटेर अध्यादेश नरोक्न आग्रह गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै प्रतिपक्ष बिनाको राष्ट्रिय सभा गठन गर्नु उपयुक्त नहुने भन्दै एकल संक्रमणीय प्रणालीबाटै निर्वाचन गर्नुपर्ने बताई सकेको छ।

राष्ट्रिय सभा गठन प्रक्रिया अघि नबढ्दा समानुपातिकतर्फको नतिजा घोषणा र सरकार गठन प्रक्रिया रोकिएको छ । आज हुने ओली र प्रचण्डको भेटले विद्यमान राजनीतिक गतिरोधको निकास दिने अपेक्षा गरिएको छ । दुई नेताबीच सरकार गठन र पार्टी एकताका विषयमा पनि छलफल हुने निजी सचिवालयले जनाएका छन् ।

यसैबीच नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्दा अध्यक्ष को हुने भन्ने विवाद देखिएको छ । नेकपा एमालेका नेताहरुले एकीकृत पार्टीको महाधिवेशनसम्म दुई जना अध्यक्ष रहने प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्य एक जना पार्टी अध्यक्ष र अर्को प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका छन् ।

दोस्रो तहमा रहेका नेताहरुबीच अहिले पार्टी एकताको आधारका विषयमा छलफल भएपनि पार्टी अध्यक्ष को हुने भन्ने विवाद रहेको स्रोतले जनाएको छ।

चितवनबाट काठमाडौं फर्र्किएका माओवादी अध्यक्ष प्रचण्डले अनौपचारिक कुराकानीमा सैद्धान्तिक र व्यवहारिक हिसाबले एकतामा जोड दिएको छ। पार्टी एकताको आधारका विषयमा एमाले अध्यक्ष ओलीले भने अहिलेसम्म कुनैपनि प्रतिक्रिया जनाएको छैन ।

तर दोस्रो तहका नेताहरुले भने महाधिवेशनसम्म ओली र प्रचण्ड दुवैजना अध्यक्ष हुने, दुवै पार्टीका एक एक जना महासचिव हुने र प्रधानमन्त्रीमा ओली रहने प्रस्ताव गरेका छन्।

Share