आप्रबासीप्रति चिन्ता, वेवास्ता नगर्न पोप फ्रान्सिसको अपील

आप्रबासीप्रति चिन्ता, वेवास्ता नगर्न पोप फ्रान्सिसको अपील

क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले आप्रबासीको दुर्दशालाई बेवास्ता नगर्न विश्वभरका रोमन क्याथोलिकहरुलाई आह्वान गरेको छ।

भ्याटिकन सिटीमा क्रिशमश पर्व पूर्व भएको कार्यक्रममा सम्बोधन गर्दै पोपले आफ्नो थातथलोबाट धपाइएकाहरुको ख्याल गर्नु पर्नेमा जोड दिएको हो। पोपले भने–‘धेरैजसो आप्रवासीहरु त्यस्ता नेताहरुका कारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन, जसले निर्दोषहरुको रगत बगाउनुमा केही समस्या देखेनन् ।’ आप्रवासीहरुप्रतिको सम्मान इसाई धर्मको एक महत्वपूर्ण हिस्सा भन्दै उनले जिसस क्राईस्टको जन्म हुँदा जोसेफ र मेरीले बेथलेहममा बस्नका लागि तबेला बाहेक अन्य ठाउँ नभेटेको प्रसंग जोडेर आप्रवासीहरुको अवस्थालाई वर्णन गरे।

पोप फ्रान्सिसले विश्वभरका आप्रवासीहरुको बचाउलाई नै आफ्नो कार्यकालको मुख्य मुद्दा बनाएको छ । इसाई धर्मले विदेशीहरुलाई जहीँकहीँ पनि स्वागत गरियोस् भनेर जोड दिने गरेको पनि पोप फ्रान्सिसले बताए ।

विश्वभरका झण्डै १ दशमलव २ अर्ब रोमन क्याथोलिकका धर्मगुरु पोप फ्रान्सिस आफैँ पनि ईटलियन आप्रवासीका सन्तान हुन् ।

Share