संसारभर क्रिसमस डे पर्व मनाउँदै

संसारभर क्रिसमस डे पर्व मनाउँदै

काठमाडौ । इसाई धर्मालम्वीहरुले आज क्रिसमस पर्व मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा संसारभर क्रिसमस डे का रुपमा यो पर्व मनाईन्छ ।

नेपालका इसाई धर्मालम्वीले पनि चर्चहरुमा प्रार्थना लगायत कार्यक्रम गरी मनाउँदैछन् । आजको दिन येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान, उपहार आदान प्रदान, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गर्ने गरिन्छ।

नेपालमा विसं २०६२÷६३ को परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्म दिवसका रुपमा मान्यता दिएको हो ।

सरकारले पुस १० मा क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ ।

आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा क्रिसमस महोत्सव गर्ने तयारी गरिएको महासंघका अध्यक्ष सिवी गहतराजले जानकारी दिए ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

Share