खोजी शुभ साइतको

खोजी शुभ साइतको

हामफाल्न खोज्दै छ ऊ
छेक्नेहरुको भिड्बाट
रोक्नेहरुको भिड्बाट
घरी यता दौडन्छ घरी उता
खोइ किन हो कुन्नी!
आजकल अलिक बढी
अस्वभाविक व्यबहार देखाउदै छ ।
अस्तित्व बोझ भएको छ उसलाई
शिर लुकाउछ घरी घरी
दन्त्य कथाको मुर्कट्टाले जस्तै
त्यसैले
हामफाल्न खोज्दै छ ऊ
छेक्नेहरुको भिड्बाट
रोक्नेहरुको भिड्बाट ।

विचारको महामारीले
टाउको उठाउन नसक्ने गरि
थलिएको ऊ
कहिले बुई चढ्छ
कहिले भुइँ झर्छ
कहिले यता त कहिले उता दगुर्छ
विचारको अग्लो छतबाट
भिडहरुको आँखा छल्दै
हामफाल्न खोज्दै छ ऊ
बचाउनेहरुको भिड
रोक्न खोज्दै छ उसलाई ।
तर ऊ
झुक्क्याउने कोशिसमा छ
हामफाल्ने दाउमा छ ।

स्खलितहरु…
ज्योतिष हेराउदै छन
निष्ठावानहरु…
विद्रोहको ज्वाला दन्काउने तयारीमा छन
रमितेहरु….
अड्कल बाजि गर्दैछन
तर उस्लाई कसैको प्रवाह छैन
आफ्नै शुरमा/आफ्नै तालमा
कहिले यता त कहिले उता दगुर्छ
भिडहरुको आँखा छल्दै
हामफाल्न खोज्दै छ ऊ
बचाउनेहरुको भिड
रोक्न खोज्दै छ उसलाई
तर ऊ
झुक्क्याउने कोशिसमा छ
हामफाल्ने दाउमा छ
विचारलाई आर्यघाट पुर्याई
श्रद्धाञ्जली सभा राख्ने
शुभ साइत खोजी रहेछ ।
=======*========

नयाँ वानेश्वर
काठमाडौं ।

Share