बालक्लवको “स्वच्छ र सफा वडा” अभियान

बालक्लवको “स्वच्छ र सफा वडा” अभियान

भोजराज कार्की, सोलुखुम्बु । सोलुखुम्बुको दुधकौशीका गाँउपालिका ५ जुबुमा “स्वच्छ र सफा वडा” अभियान सुरु गरिएको छ । साविकको जुबु ६ लेब्रुङमा क्रियाशील संस्था जनजागृति युवा एकता समुहको अगुवाईमा गठन गरिएको सहयोगी हातेमालो बालक्लवले “स्वच्छ र सफा वडा” अभियान शुरु गरेको हो।

वडाभित्र अव्यवस्थित रुपमा फालिएको प्लाष्टिकजन्य बस्तु, सिसा र रबरका बोतलहरु लगायतका फोहोर संकलन गरेर स्वच्छ र सफा वडा अभियान सफल बनाईने जनजागृति युवा एकता समुहका अध्यक्ष प्रतिमान राईले जानकारी दिए ।

भर्खरै गठन गरिएको बा क्लवले शनिबारबाट तीन महिनाभित्र वडा नम्बर ५ लाई स्वच्छ र सफा बनाउने उद्देश्यले अभियान शुरु गरेको बताईएको छ।

बालक्लवले शनिबार बर्खुघाट दुधकोशिका पुलदेखि उत्तीसेसम्म करिब तीन किलोमीटरको बाटोमा बाँसको टोकरी बनाई ठाँउठाँउमा राख्नुका साथै सबै किसिमका फोहोरजन्य बस्तुहरु संकलन गरी वातावरणलाई प्रभाव नपार्ने स्थानमा बिस्थापन गरिएको बालक्लवका अध्यक्ष रोजीना राईले बताइन्।

यात्रा गर्ने सबै यात्रीले पनि फोहोरजन्य बस्तु बाटोको ठाँउठाँउमा राखिएको टोकरीमा मात्र फाल्न बालक्लवले अनुरोध गरेको छ, यदि जथाभावी फालेको देखिए वा भेटिएमा बालक्लवको निर्णय अनुसार जरिवाना समेत गराईने जनाएको छ ।

साथै बालक्वलले दुधकौशिका गाउपालिका वडा नम्बर ५ भित्रका सबै घरलाई आआफ्नो घरमा फोहोरजन्य बस्तु जम्मा गर्ने टोकरी बनाएर राख्न पनि आग्रह गरेको क्लवका अध्यक्ष रोजीना राईले जानकारी दिइन् । यस्तै यस वडाभित्र सञ्चालित सबै होटल पसलहरुलाई पनि फोहोर व्यवस्थापनका लागि सचेत गराईएको अध्यक्ष राईले बताइन् ।

आफ्नो गाऊँ आफै बनाऊँ भन्ने भनाई सार्थकता दिनको लागि आफूहरु सक्रिय भएको क्लवका उपाध्यक्ष रबीन राईले बताए । मानिसको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने वातावरण सफा राखिएन भने त्यसबाट मानिसमा विभिन्न किसिमको रोगको संक्रण हुने र ठूलो क्षती बेहोर्नु पर्ने भएकाले त्यसबाट बच्न यसता अभियानले सहयोग पुग्ने उपाध्यक्ष राईको विश्वास छ ।

वडा भित्रका हरेक नागरिक स्वस्थ्य रहन वातावरण सफा आवश्यक पर्ने भएकाले सबैको सक्रियतामा यो अभियानलाई सफल बनाउने क्लवका कोषाअध्यक्ष सुमन राईको भनाई छ। राईले भने, “हामीलाई सबैले सहयोगको बचन दिनुभएको छ, अवश्य हामी सफल हुन्छौ र बाल क्लवले गरेको यो जिल्लामा नै नमूना कामको थालनी भएको प्रमाणित हुने छ ।” हाम्रो देखेर अरु सबैले अभियान चाल्न आवश्यक रहेको पनि राईले प्रष्ट पारे।

Share