३६ प्रतिशत बालबालिकामा अझै पुड्कोपनको समस्या

३६ प्रतिशत बालबालिकामा अझै पुड्कोपनको समस्या

काठमाडौ । नेपालमा पोषणका क्षेत्रमा सुधार आएको सरकारी तथ्याङकले देखाएपनि अझै ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार सन् २०१६ मा ३६ प्रतिशत बालबालिकामा अझै पुड्कोपनको समस्या देखिएको छ।

यद्धपी यो दर ५ बर्ष पहिलेको भन्दा ५ प्रतिशतले घटेको छ । सन् २०११ मा त्यस्ता बालबाबालिकाको दर ४१ प्रतिशत रहेको थियो । खानपानमा असन्तुलन वा उपयुक्त आहार पुर्याउन नसक्दा ५ बर्ष मुनिका एकतिहाई भन्दा बढी अर्थात ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको सरकारी तथ्याङ्क छ।

सहरी क्षेत्रमा ३२ प्रतिशत र ग्रामिण क्षेत्रमा ४० प्रतिशत बालबालिकामा यस्तो समस्या रहेको छ । उमेर अनुसार उचाई नपुगेर उनीहरुमा पुड्कोपन देखिएको हो।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वव्यापी रुपमा ५ बर्षमुनिका १५ करोड ५० लाख बालबालिका कुपोषणकै कारण पुड्का छन्।  यस्तै ५ करोड २० लाख बालबालिका उचाई अनुसार तौल नपुगि ख्याउटे र १ करोड ७० लाख कडा ख्याउटेपनको समस्याबाट गुज्रिरहेका छन्।

सरकारले केही दिन अघिमात्र बालबालिकाको पोषण र महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सन् २०१८ देखि २०२२ सम्मका लागि बहुक्षेत्रीय पोषण योजना सार्वजनिक गरेको छ । जस अनुसार आगामी ५ वर्षभित्र ५ वर्षमुनिका बालकालिकाको पुड्कोपनलाई २८ प्रतिशतमा झार्ने लक्ष्य लिईएको छ ।

Share