कडा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

कडा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले मिसाइल परीक्षण नरोकेपछि उत्तर कोरिया विरुद्ध थप कडा प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ।

सुरक्षा परिषदमा भएको मतदानमा उत्तर कोरियाका प्रमुख ब्यापारिक साझेदार चीन र रुस सहित सबै १५ सदस्यले प्रतिबन्धको पक्षमा मतदान गरे।

अमेरिकाले तयार पारेको प्रतिबन्ध सम्बन्धी प्रस्तावमा उत्तर कोरियाको पेट्रोलियम पदार्थको आयात ९० प्रतिशतसम्म कटौती गर्ने उल्लेख गरिएको छ।

विश्वका जुनसुकै देशमा रहेर काम गरिरहेका उत्तर कोरियाका नागरिक २ वर्ष भित्र घर फर्कनु पर्ने छ । यसले उत्तर कोरियाको विदेशी मुद्रा आयातको महत्वपूर्ण स्रोत कटौती हुनेछ।

उत्तर कोरियाका मेशीनरी र बिजुलीका उपकरण अन्य देश निर्यातमा समेत रोक लगाइने भएको छ । उत्तर कोरिया यस अघिदेखि नै अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनको थुप्रै प्रतिबन्ध झेलिरहेको छ ।

तर विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु हतियार उत्पादन कार्य जारी राखेको छ । मतदानपछि राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले नयाँ प्रतिबन्धले उत्तर कोरियालाई परमाणु कार्यक्रम अघि बढाउनु सजायँको भागिदार हुनु हो भन्ने स्पष्ट सन्देश दिएको बताए।

चीनियाँ राजदुत वु हाइटाओले यो नतिजाले उत्तर कोरियाको परमाणु कार्यक्रम बारे अन्तर्राष्ट्रिय समुदाय के चाहन्छ भन्ने दर्शाएको टिप्पणी गरेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको स्वागत गर्दै विश्व मृत्यु होइन शान्ति चाहन्छ भन्ने प्रमाणित भएको बताएको छ ।

– एजेन्सी ।

Share