म्यादी प्रहरीको ज्यान गयो, कालिकोटको मान्मा तनावग्रस्त

म्यादी प्रहरीको ज्यान गयो, कालिकोटको मान्मा तनावग्रस्त

काठमाडौ । प्रहरीले चलाएको गोली लागेर कालिकोट सदरमुकाम मान्मा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । ६१ हजार रुपैयाँ दिने भनिएकोमा तीन हजार कतौटी गरी ५८ हजार मात्र दिएको भन्दै प्रदर्शनमा उत्रेका म्यादीमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का विवेक ऐडीको मृत्यु भएको हो । एक बालक र एक म्यादी प्रहरी गरी दुई जना घाईते भएका छन् ।

घाईतेको कालिकोटको जिल्ला अस्पतालमा उपचार भईरहेको अस्पतालका अध्यक्ष कृष्णबहादुर सिंहले जानकारी दिए ।  प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी सहित कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले दावी गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

निर्बाचनमा खटिएका म्यादी प्रहरीलाई आज सरकारले तोकेको रकम मध्ये ३ हजार कटौती गरी बाँकी तलब दिएर बिदा गरिएपछि ९ सय ७३ जना म्यादी आन्दोलनमा उत्रेका थिए।

उनीहरुले प्रहरी प्रशासनले २९ लाख १९ हजार रकम हिनामिना गरेको आरोप लगाएका छन् । कालिकोटको सदरमुकाम मान्म अहिले तनावग्रस्त छ र म्यादीले बजार बन्द गरका छन् ।

दोषीमाथि कारबाही गनुपर्ने उनीहरुको माग छ । यसैबीच एक जनाको मृत्यु पछि आक्रोशित म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।

Share