पाँच दलको बैठकमा सहमति जुटाउन असफल

पाँच दलको बैठकमा सहमति जुटाउन असफल

काठमाडौ । राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन बसेको पाँच दलको बैठक बिना सहमति सकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको बैठक दलहरुको पुरानै अडानका कारण सहमति जुटाउन असफल भएको हो।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रियसभा चुनाव सम्बन्धी अध्यादेशमा समर्थन गर्न आग्रह गरेकोमा एमाले र माओवादीले अस्वीकार गरेका छन्।

एकल संक्रमणीय मतप्रणालीबाट राष्ट्रियसभा गठन गर्नु पर्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिन एमाले र माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

एमाले र माओवादीले सरकार गठनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरेका छन् । बैठकपछि कांङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने बताए ।

‘अध्यादेश नआएसम्म सहमति हुदैन, पौडेलले सञ्चारकर्मीसँग भने -‘राष्ट्रिय सभा गठन नभएसम्म प्रतिनिधिसभा पूर्ण हुँदैन ।’  बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपति समक्ष पठाउनु पर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए ।

नेता श्रेष्ठले संसद सकिएपछि सरकारले अरुलाई छल्न अध्यादेश ल्याएको भन्दै यसमा आफूहरुको सहमति नहुने बताए ।  दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतीय प्रणाली अन्र्तगत गर्ने भन्नेमा विवाद छ । कांग्रेस एकल संक्रमणीय एमाले–माओवादी बहुमतीय प्रणालीका पक्षमा छन्।

मधेशवादी दल भने एकल संक्रमणीय मतप्रणालीका पक्षमा देखिएका छन् । बैठक बिना निष्कर्ष टुंगिएपनि छलफल जारी राख्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

Share