आफ्नो निर्णय विरुद्ध उभिने देशलाई ट्रम्पको चेतावनी

आफ्नो निर्णय विरुद्ध उभिने देशलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णय विरुद्ध उभिने देशलाई आर्थिक सहायता रोक्ने चेतावनी दिएको छ । इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने निर्णय बारे संयुक्त राष्ट्रसंघमा मतदान हुनुअघि ट्रम्पको यस्तो चेतावनी आएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रसंघमा आफ्नो निर्णयको विपक्षमा मतदान गर्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिए । ‘हामीसँग अर्बाै डलर सहायता लिने अनि फेरि हाम्रै निर्णय विरुद्ध मतदान गर्ने ? सहयोग रोक्ने संकेत गर्दै ट्रम्पले भने, ‘ठिकै छ मतदान गर्दा हुन्छ, हामीलाई कुनै फरक पर्ने वाला छैन, हाम्रो धेरै रकम बचत हुन्छ ।’

राष्ट्रसंघमा मतदानका लागि लैजान तयार पारिएको प्रस्तावमा अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलम बारे गरिएको कुनै पनि निर्णय खारेज हुनु पर्ने भनिएको बीबीसीले जनाएको छ।

इजरायलले जेरुसेलमलाई राजधानी माने पनि अमेरिका बाहेक विश्वका कुनै पनि देशले यसलाई स्वीकार गरेका छैनन् ।  अन्तर्राष्ट्रिय आलोचनाका बीच यहि महिना अमेरिकाले इजरायलको राजधानी जेरुसलमलाई मान्यता दिने निर्णय गरेको थियो ।

बीबीसीका अनुसार अमेरिका र राष्ट्रसंघका लागि अमेरिकी राजदुत निकी हेली अन्य देशहरुलाई आफ्नो पक्षमा मतदात गर्नका लागि प्रभावमा पार्न लागिरहेका छन् ।

– एजेन्सी ।

Share